सोमबार २६ फागुन, २०८१

पनौती नगरपालिकाले बन्द गरायो तीन खानी र क्रसर

पनौती नगरपालिकाले बन्द गरायो तीन खानी र क्रसर

काठमाडौं, २३ फागुन । पनौती नगरपालिकाले तीनवटा रोडा ढुंगा उद्योग बिहीबार बन्द गराएको छ । पनौती नगरपालिका वडा नम्बर २ र १२ मा मापदण्डविपरित सञ्चालित तीनवटा रोडा ढुंगा उद्योग बन्द गर्ने निर्णय भएको हो ।

पनौती नगरपालिका वडा नम्बर २ मा सञ्चालित श्री डाइमण्ड स्टोन माइनिङ प्रालि, पनौती नगरपालिका वडा नम्बर १२ को श्री भालेश्वर रोडा ढुंगा उद्योग प्रालि र दिपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रालिलाई अर्को आदेश नभएसम्म बन्द गरिएको पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले जानकारी दिउ । ‘खानी तथा भुगर्भ विभागबाट जारी उत्खनन् अविध समाप्त भइसकेको र पटक पटक ताकेता गर्दा समेत बन्द गरेको नदेखिएकोले अर्को निर्णय र आदेश नभएसम्मका लागि सो उद्योगहरु बिहिबार बन्द गरिएको हो ।’—पनौती नगर प्रमुख भण्डारीले भने ।

नगरपालिकाले ती उद्योगहरूमा सूचना बन्द गराउने निर्णय गरेको थियो । उद्योग बन्द गराउन नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बन्जारा, वडा अध्यक्ष २ का पुरूषोत्तम अधिकारी र १२ का जयराम केसी, निर्देशक प्रणराज न्यौपाने, प्रशासन शाखा प्रमुख शम्भुप्रकाश शर्मा लगायत कर्मचारी तथा इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख ज्ञानबहादुर खड़का लगायत प्रहरीको टोली पुगेको थियो ।

जिल्ला अनुगमन समितिको गत माघ ९ मा भएको बैठकले नदी तथा खानीजन्य क्रसर उद्योग र भौगोलिक विषमता नै बाढीपहिरोको मुख्य कारण रहेको निष्कर्ष निकालेको थियो  भने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले समेत गैरकानुनी रूपमा सञ्चालित ढुङ्गा तथा क्रसरबाट ठुलो धनजनको क्षति भएको जनगुनासो आएकाले अवैध रूपमा सञ्चालन भएका ढुङ्गा र क्रसर उद्योग बन्द गराउने निर्णय गरेको थियो ।

गत माघ ३ गते जिल्लाका सबै पालिकालाई गैर कानुनी रुपमा संचालित ढुंगाखानी र क्रसरहरु बन्द गर्न पत्राचार भए पनी कार्यान्वयन भएको थिएन । पनौतीले अनुगमन गरेर बन्द गराए पनी समन्वय र प्रशासनको दुबै निर्णयलाई कार्यान्वयन नगरी अन्य स्थानीय पालिकाहरुमा रहेका खानी तथा क्रसर उद्योग संचालन भईरहेका छन ।

बाढीपहिरोपछि खोलाको बहावले धार परिवर्तन गरेको, बस्तीहरू जोखिममा परेको, वरिपरिका भूभागसमेत भत्किएकोरबगाएकोरपहिरो गएको, डस्ट (धुलो) र गेग्य्रानले खोलाहरूको सतह बढेको उल्लेख गर्दै हालको अवस्थामा बस्ती, खानी, खोला वन क्षेत्र भौगर्भिक अवस्थालगायत सरोकार राख्ने सबै पक्षमा गम्भीर एवं विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अध्ययनका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समेत अनुरोध गरेको थियो ।

विशेषगरी बाढी प्रभावित रहेका पालिकाहरु पनौती, रोशी, बेथानचोक र नमोबुद्धमा बढि क्रसर तथा खानी छन् । पनौतीमा १४ वटा क्रसर तथा खानी मध्ये विपद्पछि ७ खानी र ५ क्रसर उद्योग खुलेका छन् । बेथानचोक गाउँपालिकामा तीन वटा खानी र क्रसर उद्योग सञ्चालनमा छन् । नमोबुद्ध नगरपालिकामा रहेका ४ खानी र क्रसर उद्योगमध्ये विपद्बाट ३ वटामा क्षति पुगेको थियो । अहिले १ वटा मात्र संचालनमा छ । रोशीमा रहेका ५ मध्ये २ वटा चलेका छन् । मण्डनदेउपुर नगरपालिकामा विपद्पछि ३ उद्योग चलिरहेका छन् । भुम्लु गाउँपालिकामा ४ क्रसर र ७ खानी सञ्चालनमा छन् ।

विपदअघि पनौतीमा १०, रोशीमा ५, नमोबुद्ध र भुम्लुमा ४, बेथानमा ३, मण्डनमा २, बनेपा, तेमाल र चौरीमा १र१ खानी तथा क्रसर संचालनमा थिए । जिल्लाका १३ पालिका मध्ये पाँचखाल, धुलिखेल, महाभारत र खानीखोलामा भने खानी तथा क्रसर छैनन ।