डढेलो रोकथामका लागि दाङ देउखुरीमा सचेतना अभियान

घोराही, २३ फागुन । दाङ देउखुरीमा वन डढेलो रोकथामका लागिस चेतना अभियान थालिएको छ । डिभिजन वन कार्यालय लमहीले डढेलो रोकथामका लागि सचेतना अभियान थालेको हो ।
डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्न सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेले बताउनुभयो ।
सो कार्यक्रम अन्तर्गत गाउँ–गाउँमा सचेतना सामग्री वितरण, माइकिङ, रेडियोबाट सूचना सामग्री प्रसारण, पोस्टर टाँस्ने, अग्नि रेखा, सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउने लगायतका कार्य गर्ने उहाँले बताउनुभयो ।
हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको लाग्ने अवधि भनेर चिनिन्छ । प्रायः यो अवधिमा डढेलोको प्रकोप देशैभर अत्यधिक बढ्ने गरेको छ । यसरी हरेक वर्ष लाग्ने डढेलोले वन सम्पदा र धनजनको ठूलो क्षति हुने गर्छ ।
डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीले सामुदायिक वन, समुदाय, कर्मचारी तथा सरोकारवाला निकायसँग अन्तर्क्रिया गर्दै सप्ताहव्यापी रूपमा कार्यक्रमलाई अगाडि बढाउने योजना रहेको जनाएको छ ।
वन कार्यालय दाङ, देउखुरी लमहीका सिनियर डिभिजनल वन अधिकृत वाग्लेले राजमार्ग सडक तथा भित्री सडक छेउछाउ पातपतिङ्गर हटाएर सरसफाइ गर्ने र पूर्वतयारीका कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभएको छ ॥