शनिबार २७ मंसिर, २०८२

तराई-मधेश अभियानले राष्ट्रकै ध्यान मधेशतिर खिचेको छ : प्रचण्ड

तराई-मधेश अभियानले राष्ट्रकै ध्यान मधेशतिर खिचेको छ : प्रचण्ड

जनकपुरधाम, २३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशको ध्यान मधेसमा केन्द्रित भएको बताएका छन्।

शुक्रबार जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित सभालाई सम्बोधन गर्दै उनले पार्टीले सुरु गरेको अभियानका कारण सबैको ध्यान मधेसले तानेको बताए।

उनले मधेसी जनताले भोगेको विभेद र अपमान मधेसको मात्रै नभई देशकै समस्या रहेकाले मधेसी जनताको पहिचान, अधिकार र आर्थिक सामाजिक रुपान्तरण देशकै मुद्दा भएको बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामाकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित नभए प्राप्त उपलब्धि खोसिने खतरा रहेको दाबी गरे।

उनले राजनीतिक दलको तर्फबाट माओवादीले नै पहिलो पटक हुलाकी मार्ग केन्द्रित राजनीतिक अभियान सुरु गरेको उल्लेख गर्दै यसको मुख्य उद्देश्य यस क्षेत्रका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु भएको स्पष्ट पारे।