सोमबार २६ फागुन, २०८१

केबलकार निर्माणमा सहजीकरण गर्न माओवादी सांसदले गराए सरकारको ध्यानाकर्षण

केबलकार निर्माणमा सहजीकरण गर्न माओवादी सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले ताप्लेजुङको मुकुम्लुङमा केबलकार निर्माणको कार्यमा सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद पौडेलले पाथीभरा केबलकार निर्माणसम्बन्धी वार्ता कहाँ पुग्यो ? भन्दै सरकारसँग प्रश्न समेत गरे । केबलकार निर्माणका क्रममा सरकारले रोजेको दमनको बाटो गलत भएको उनको भनाइ छ । उनले वार्ता, सम्झौता र सहमतिको विधि अपनाएर मुकुम्लुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजीकरण गर्न अनुरोध समेत गरे ।

उनले सरकारले गर्न नसकेका कार्यहरू निजी क्षेत्रले गर्दै आएको उल्लेख गर्दै ऊर्जा, पर्यटन, कृषि जस्ता क्षेत्रहरूमा अझै बढी लगानीको आवश्यकता रहेको बताए । उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व भएको समेत बताए ।

उनले भने ‘पाथीभरा केबलकार निर्माणसँग सम्बन्धित वार्ता कहाँ पुग्यो ? सरकारले रोजेको दमनको बाटो गलत थियो र छ सम्माननीय सभामुख महोदय । वार्ता सम्झौता र सहमतिको विधि अपनाएर मुकुम्लुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजीकरण गर्न विशेष अनुरोध गर्न चाहन्छु । सरकारले गर्न नसकेका कार्यहरू निजी क्षेत्रले गर्दै आएको र ऊर्जा, पर्यटन, कृषि जस्ता क्षेत्रहरूमा अझै बढी लगानीको आवश्यकता भएको कुरामा हामी सबै स्पष्ट छौं । निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो । चन्द्र ढकाल जस्ता व्यवसायीहरूलाई प्रोत्साहन गर्दै केबलकार निर्माणमा सहजीकरण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले विकास निर्माणको काममा निजी क्षेत्र र सरकारको सहकार्य र एकता जरुरी रहेको बताए ।