सोमबार २६ फागुन, २०८१

हुम्लाका महिलाले देउडा खेलेर मनाए नारी दिवस

हुम्लाका महिलाले देउडा खेलेर मनाए नारी दिवस

अदानचुली (हुम्ला), २५ फागुन । हुम्लाका महिलाले देउडा खेलेर एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाएका छन् । अदानचुली गाउँपालिकाद्वारा  दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा वक्तृत्वकला प्रतियोगितासहित देउडा खेल पनि खेलाएको थियो ।

‘सबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’  भन्ने नारासहित गाउँपालिकाका छवटै वडाका महिला ‘प्लेकार्ड’सहित र्यालीमा सहभागी भएका थिए । 

सहभागीले महिलामाथि हुने हिंसा र विभेदविरुद्धका अन्त्य गर्नुपर्ने मागका ‘प्लेकार्ड’ र ‘ब्यानर’ बोकेका थिए ।  महिला अधिकारकर्मी तारा चन्दले महिलामाथि हुने हिंसा र विभेद अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो औल्याएकी थिइन् । 

‘मर्यादित महिनावारी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा वडा नं ५ की केशरी ऐडी प्रथम भइन् भने मिठाई खेलमा २ नं वडाकी फागुनी बुढाले जित हात पारिन् । 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कर्ण रोकायाले महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको  अन्त्य गर्न पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिराखेको बताए ।