पूर्वराजाको स्वागतमा राप्रपा अध्यक्ष लिङ्देन सहभागी नहुने

काठमाडौं, २५ फागुन । आज आइतबार पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डू आउँदा हुने स्वागत र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने सहभागी नहुने भएका छन् । पार्टीले यसको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ ।
शाहीले अध्यक्ष स्वागत र्यालीमा सहभागी नहुने जानकारी दिएका छन । उनले भने, ‘अध्यक्षज्यु आज सहभागी हुनुहुन्न । उहाँले मलाई र प्रवक्ता ज्यूलाई स्वागत कार्यक्रम अगाडि बढाउने जिम्मा दिनुभएको छ ।’
प्रवक्ता श्रेष्ठले पनि अध्यक्षको उपस्थितिबारे अहिलेसम्म जानकारी नभएको बताए । ‘अध्यक्षज्युले केही भन्नु भएको छैन,’ उनले भने । राजावादी समर्थकहरु गौशाला र तीनकुने क्षेत्रमा भेला भएर पूर्वराजा शाहलाई स्वागत गर्न सिनामंगलस्थित विमानस्थलको मुख्य गेटतर्फ अगाडि बढ्ने छन् ।
त्यहाँबाट शाहसँगै र्याली निर्मल निवाससम्म पुग्नेछ । पूर्वराजा ज्ञानेन्द्र शाह एक साता लामो पोखरा बसाइँपछि आज दिउँसो काठमाण्डू फर्किंदैछन् ।