त्रिभुवन विमानस्थलमा सुरक्षा कडा, मोटरसाइकल प्रवेशमा रोक

काठमाडौं,२५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि उनका समर्थकहरू विमानस्थल पुग्ने क्रम बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा कडाइ गरिएको छ। सुरक्षालाई मध्यनजर गर्दै विमानस्थल प्रवेश गर्न मोटरसाइकलहरूलाई रोक लगाइएको छ।
विमानस्थलको मुख्य प्रवेशद्वार (गोल्डेन गेट) मा जनपथ प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ। सुरक्षाकर्मीहरूले सोधपुछ तथा कडाइका साथ चेकजाँचपछि मात्र यात्रुहरूलाई प्रवेश दिइरहेका छन्। केही मोटरसाइकल सवारलाई भने सीधा फर्काइदिएको छ।
पूर्वराजा शाह पोखरामा एक साताको बसाइपछि आइतबार हवाईमार्ग हुँदै काठमाडौं फर्किंदै छन्। उनलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल, राजावादी समूहहरू विमानस्थल बाहिर भेला भएका छन्। उनीहरू राष्ट्रिय झण्डा र ज्ञानेन्द्र शाहको फोटोसहितको ब्यानर बोकेर नारा लगाइरहेका छन्।
समर्थकहरूको भिड बढ्दै गएपछि विमानस्थल वरपरको यातायात प्रभावित भएको छ। भिडलाई नियन्त्रण गर्न र सम्भावित अवाञ्छित गतिविधि रोक्न सुरक्षाकर्मीहरूलाई ‘हाइ अलर्ट’मा राखिएको काठमाडौं प्रहरी प्रमुखले जानकारी दिएका छन्।