आगामी बजेटमा ३ करोड लागतभन्दा साना योजना प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं, २५ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि ३ करोड रुपैयाँ लागतभन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन् ।
बजेट निर्माणका सम्बन्धमा खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको छुट्टा–छुट्टै छलफलमा अर्थमन्त्री पौडेलले पूर्वतयारी सकिएका र ठूला रूपान्तरणकारी एवं राष्ट्रिय महत्वका आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न आग्रह गरेका हुन् ।
उनले मन्त्रालयहरुलाई असंख्य योजना तथा कार्यक्रमबाट बाहिर निस्कन आग्रह पनि गरेका छन् । अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रममा उनीहरूको भूमिका बढाउनुपर्ने पनि बताएका छन् ।
बजेट निर्माण सम्बन्धी बैठकमा खानेपानीमन्त्री प्रदीप यादव, संघीय मामिलामन्त्री राजकुमार गुप्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ सचिव, राजस्व सचिव, खानेपानी सचिव, संघीय मामिला सचिव, विभागीय प्रमुख लगायत सहभागी थिए ।
आगामी बजेट निर्माण सम्बन्धमा अर्थ मन्त्रालयले यसअघि भौतिक, सहरी, ऊर्जा, स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल गरिसकेको छ ।