विमानस्थलको मुख्य गेट अगाडि भेला भए ज्ञानेन्द्र शाहका समर्थक

काठमाडौं, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि उनका समर्थकहरू काठमाडौँको विमानस्थलको मुख्य गेट अगाडि भेला भएका छन् ।
समर्थकहरूको भिड बढ्दै जान थालेपछि सुरक्षाकर्मीहरूको तैनाथी पनि बढाइएको छ । विमानस्थलको मुख्य गेट अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ ।
राजावादीहरू राष्ट्रिय झण्डा र पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो अंकित ब्यानरसहित भेला भएका छन् ।
पूर्वराजा शाह पोखराको एक हप्ता बसाइँपछि आज हवाईमार्ग हुँदै काठमाडौं आउँदैछन् । उनलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल र ज्ञानेन्द्र शाह समर्थित विभिन्न संघसंस्थाहरु विमानस्थलको गेटसम्म पुगेका हुन् ।
उनीहरूलाई चक्रपथ सडकबाट विमानस्थलको मुख्य गेटभित्र प्रवेश गर्न भने प्रहरीले रोकेको छ । काम विशेषले विमानस्थलसम्म जानेहरूलाई पनि प्रहरीले सोधपुछ र चेकजाँच गरेर मात्र मुख्य गेटबाट प्रवेश गर्न दिएको छ ।
राजावादीहरू विमानस्थलको गोल्डेन गेट अगाडिबाट स्वागत गरेर महाराजगञ्जस्थित निर्मल निवाससम्म नारा जुलुससहित पुर्याउने भनेर भेला भएका छन् ।
राजावादीहरूको स्वागतमा विभिन्न दल र समूहहरू सडकमा उत्रिने भएपछि काठमाडौँको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरूलाई ‘हाई अलर्ट’मा राखिएको छ ।