सोमबार २६ फागुन, २०८१

राजावादीको प्रदर्शनलाई माओवादीले दियो अराजकताको संज्ञा

राजावादीको प्रदर्शनलाई माओवादीले दियो अराजकताको संज्ञा

काठमाडौं, २५ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा माओवाद केन्द्रले राजावादीको प्रदर्शनलाई अराजकताको संज्ञा दिएको छ ।

आइतबार राष्ट्रिय सभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै माओवादी सांसद जगप्रसाद शर्माले राजावादीको नाममा भइराखेको गतिविधि नियन्त्रणमा लिन सरकारको ध्यानाकर्षण गरे ।

पूर्वराजा ज्ञानेन्द्र देशका विभिन्न क्षेत्रको भ्रमण गरेर काठमाडौं फर्किँदैछन् । ज्ञानेन्द्र पुगेको क्षेत्रमा राजावादले प्रदर्शन गरेका छन् भने आइतबार उनलाई स्वागत गर्ने क्रममा राजावादीहरूले काठमाडौंमा र्‍याली निकाल्दैछन् । यस्तो कार्यलाई शर्माले अराजकताको संज्ञा दिएका हुन् ।

‘यो (राजावादीको प्रदर्शन) संविधान विरोधी हर्कत, व्यवस्था विरोधी, संघीयता विरोध क्रियाकलाप जे छन् यो अराजकतालाई नियन्त्रण गर्न कन्ट्रोल गर्न सरकार किन सकिरहेको छैन ?’ सरकारलाई सांसद शर्माको प्रश्न छ l 

राजतन्त्र अन्त्यका लागि भएको संघर्ष सम्झिन उनको आग्रह छ । अगाडि भन्छन्, ‘धेरै देशहरूमध्ये नेपाली समाजमा सबैभन्दा लामो समय लगाएर सबैभन्दा कठिन र चुनौतीपूर्ण संघर्षबाट अढाइ सय वर्ष देखि जरा गाडेर बसेको निरंकुश सामन्तवाद राजतन्त्र अन्त्य गरेका हौं ।’

फेरि त्यही राजतन्त्र फर्काउने भन्ने विषय समाजका लागि सह्य हुन नसक्ने उनको चेतावनी छ । राजावादीको गतिविधि नियन्त्रण गर्न सरकारलाई उनको आग्रह छ ।

देशमा बढिराखेको अराजकता, संविधान विरोधी हर्कत सरकारले तुरुन्त नियन्त्रण गरोस् । कथित राजा फर्काउने नाममा जसले वंश विनाश गरे तिनैले जुन ढंगको नाटक मञ्चन गरिरहेका छन् त्यसको नियन्त्रण सरकारले गरोस्,’ माओवादी सांसद शर्माले भने ।