सोमबार २६ फागुन, २०८१

सरकारका जनविरोधी गतिविधिले प्रतिक्रियावादी शक्ति उत्साही भएः प्रचण्ड

सरकारका जनविरोधी गतिविधिले प्रतिक्रियावादी शक्ति उत्साही भएः प्रचण्ड

काठमाडौं, २५ फागुन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको सरकारका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको दाबी गरेका छन ।

आज (आतबार) नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई आइतबार भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन । उनले भने, ‘अहिले एमाले नेतृत्वको सरकारले गरिरहेका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएका छन् ।

तर, माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा रहेको छ,’ उनले भने, ‘सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो ।’ अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदै गर्दा संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुनु पर्ने कारणले केही दिनका लागि अभियान स्थगित गरिएको पनि उनले जानकारी दिएका छन ।

प्रचण्डले काठमाण्डूको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको बताएको उनको सचिवालयले जनाएको छ । सम्बोधनको क्रममा प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको पनि बताएका छन् ।

प्रचण्डले भने, ‘हुलाकी राजमार्गकेन्द्रित तराई–मधेश जागरण अभियानमा सम्पूर्ण पार्टी पंक्ति सक्रिय छ । हामी जनताको घरमा बसी उनीहरूसँगै बसोबास, खानपिन र छलफल गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउँदै अघि बढिरहेका छौं । यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको छ ।

जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन् ।’ सरकारमा रहेर जनताको पक्षमा काम गर्दा र भ्रष्टाचारविरुद्ध कदम चाल्दा माओवादी नेतृत्वको सरकारलाई असंवैधानिक ढंगले अपदस्थ गरिएको कुरालाई जनताले राम्ररी बुझेको उनको भनाइ छ । ‘हामी राम्रो काम गर्दै थियौं, तर उनीहरूले हाम्रो सरकार हटाइदिए ।

तर जनताले त्यो कुरा प्रस्ट बुझिसकेका छन्,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले प्रचारप्रसार गर्नै परेन । मैले विश्वासको मत प्राप्त गरेरै जनतासँग संवाद गरेको थिएँ । ठूलो दलको सरकार बन्नुपर्ने अवस्थामा पनि असंवैधानिक र अलोकतान्त्रिक रूपमा सरकार गठन भयो । यो कुरा जनताले राम्रोसँग बुझेका छन् ।’