सोमबार २६ फागुन, २०८१

सभाध्यक्षको अमिल्दो निर्णय : ७ दिनभित्र जवाफ मागेर ८ दिन बैठक स्थगित

सभाध्यक्षको अमिल्दो निर्णय : ७ दिनभित्र जवाफ मागेर ८ दिन बैठक स्थगित

काठमाडौं, २५ फागुन । राष्ट्रिय सभा नियमावलीमा सभाको आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने व्यवस्था छ । तर, सभाध्यक्ष दाहालले अर्को बैठक आगामी ४ चैतमा बस्ने तय गरेका छन् । 

२५ फागुन, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा उठेका विषयहरूबारे जवाफ दिन सरकार र सम्बन्धित मन्त्रीहरूलाई आग्रह गरेका छन् ।

आइतबार सभामा शून्य र विशेष समय सकिएपछि अध्यक्ष दाहालले यस्तो आग्रह गरेका हुन् । 

सभाध्यक्ष दाहालले ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा उठेका विषयमा सम्बन्धित मन्त्रीको जवाफ खोजेका छन् । शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना भनाइ राख्नेक्रममा उठाएका विषयहरूबारे जवाफ दिन आग्रह गरेका छन् ।

महिला र बालबालिका, हिंसा, बलात्कार, हत्या लगायतका विषयमा जवाफ दिन नेपाल सरकार र सम्बन्धित मन्त्रीलाई भनेका छन् ।
शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीका समस्याबारे उठेका विषयमा जवाफ खोजेका छन् । 

दलित, आदिवासी, जनजाति र किसानका समस्या एवं सुशासन, सेवा प्रवाह लगायतका समसामयिक विषयमा गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण गराउँदै दाहालले राष्ट्रिय सभाको नियमावलीले तोकेको समयभित्र सभामा उपस्थित भएर जवाफ दिन आग्रह गरेका हुन् ।

‘… लगायतका समसामयिक विषयमा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै राष्ट्रिय सभाको नियमावलीले तोकेको समयअवधिभित्र सभामा आइ जवाफ दिन नेपाल सरकार र सम्बन्धित मन्त्रीहरूलाई आग्रह गर्दछु,’ अध्यक्ष दाहालले भने ।

राष्ट्रिय सभा नियमावलीले सभामा आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने व्यवस्था छ ।

यससम्बन्धी व्यवस्था नियमावलीको नियम १५ मा छ ।

‘…आकस्मिक समय, शून्य समय र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सभामा दिनु पर्नेछ’ नियमावलीको नियम १५ को उपनियम २ मा छ ।

यसअनुसार सभाध्यक्ष दाहालले नेपाल सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गरेका हुन् । यसअनुसार ७ दिनभित्र जवाफ दिन आग्रह गरेका अध्यक्ष दाहालले अर्को बैठक भने ८ दिन पछि राखेका छन् ।

सभाध्यक्ष दाहालले आइतबारको बैठक स्थगित गर्दा अर्को बैठक आगामी ४ चैतमा बस्ने तय गरेका हुन् ।