काठमाडौंको गोकर्णेश्वरमा महिलाको हत्या, नाबालकसहित ५ जना पक्राउ

काठमाडौं, २६ फागुन । काठमाडौंको गोकर्णेश्वरमा महिलाको हत्या आरोपमा नाबालकसहित ५ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाहीको बागमती ढुङगेखोला घर भई हाल काठमाडौं जिल्ला गोठाटार बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौंडा शिखरपानी घर भई गोठाटार कृष्ण मन्दिर बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघांग-४ देउराली घर भई हाल गोठाटार कृष्ण मन्दिर बस्ने २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भई हाल गोकर्णेश्वर बस्ने २० वर्षीया पूजा परियार र एक नाबालक रहेका छन्।
हिजो काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका-७ नामी कलेज नजिक बागमती खोलाको बीच भागमा बोरा भित्र पानीमा डुबेको अवस्थामा महिलाको शव फेला परेको थियो।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको हत्यामा संलग्न भएको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपील राज बोहोराले बताए। उनका अनुसार काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप लिएर थप अनुसन्धान भइरहेको छ।