सोमबार २६ फागुन, २०८१

रेशम र रन्जिताको कुरा नमिल्दा जनमत-नागरिक उन्मुक्ति पार्टी एकता अलमलमा

रेशम र रन्जिताको कुरा नमिल्दा जनमत-नागरिक उन्मुक्ति पार्टी एकता अलमलमा

काठमाडौं, २६ फागुन । प्रतिनिधिसभामा ६ सांसदसहित राष्ट्रिय दलको मान्यता पाएको जनमत पार्टी र चार सांसदसहित स्वतन्त्र दलको हैसियतमा रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकतामा अन्योल उत्पन्न भएको छ।

यी दुई दलबीच एकताका लागि जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेमश चौधरीबीच विभिन्न चरणमा सकारात्मक छलफल भइरहेको छ। तर, नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक किचलोका कारण यी दुई दलबीच तत्काल एकताको सम्भावना टरेको नेताहरुले बताएका छन्।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जनमत पार्टीसँग एकतका लागि तयार भएर बसेका छन्। तर उनी श्रीमतीसमेत रहेकी अध्यक्ष रन्जिता श्रेष्ठ पार्टी एकताका लागि तयार नहुँदा यी दुई दलबीचको एकता अन्योलमा परेको हो।

यी दुई दलबीच एकता भए यो मधेसमा सबैभन्दा ठूलो दल बन्नेछ। यी दुवै दलले अहिले सरकारलाई समर्थन गरिरहेका छन्। नागरिक उन्मुक्ति पार्टी त केन्द्रदेखि प्रदेशसम्म सरकारमा सहभागी छ भने जनमत पार्टीले मधेस प्रदे्शमा सरकारको नेतृत्व गरिरहेको छ।

आगामी निर्वाचनसम्म मधेस केन्द्रित दलहरुबीच सकेसम्म एकता गराउने, त्यो सम्भव नभए मोर्चाबन्दी गर्ने तयारी मधेस केन्द्रित दलहरु आन्तरिक तयारीमा लागेका छन्। तत्काल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता नै गरेर त्यसको सुरुवात गर्ने तयारी भइरहँदा नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले तत्काल एकताको सम्भावना टरेको हो।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले तत्काल जनमत पार्टीसँग एकताको सम्भावना नरहेको बताइन्। ‘अहिले तत्काल यी दुई दलबीच एकताको सम्भावना छैन,’ अध्यक्ष श्रेष्ठले डिसी नेपालसँग भनिन्, ‘पार्टी एकता गर्ने विषयमा पार्टीभित्र एकमत हुन सकेको छैन। एकताका लागि साथीहरु तयार नभएपछि तत्काल एकताको सम्भावना नरहेको हो।’

उनले एकताका लागि पार्टीभित्र विधिवत् रुपमा छलफल नै नभएको दाबी गरिन्। ‘एकताका लागि पार्टी भित्र छलफल हुनुपर्छ, त्यसका लागि सबै नेता कार्यकर्ता तयार पनि हुनुपर्छ,’ उनले भनिन्, ‘केही साथीहरुले एकताका लागि चाहना राख्नु भएको होला, तर अधिकांश साथीहरु त्यसका लागि तयार हुनुहुन्न।’

स्रोतका अनुसार रेशम चौधेरी तत्काल पार्टी एकताको पक्षमा रहँदा रन्जिताले कुनै पनि हालतमा एकता नगर्ने अडान लिएपछि यी दुई दलबीचको एकता अन्योलमा परेको हो।

पार्टी नेतृत्वको सन्दर्भलाई लिएर उनीहरूलाई यसअघि  पनि रेशम र रन्जिताबीच लफडा परिसकेको छ। उनीहरू बीचको मनमुटावकै कारणले पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसमेत गुमाएको थियो।

तर पार्टी एकतालाई निष्कर्षमा पुर्याउन भन्दै सिके राउत र रेशम चौधरीको नियमति भेट भइरहेको छ। पार्टी एकताको खाकासमेत तयार भइसकेको अवस्थामा चाँडै एकता हुने दाबी जनमत पार्टीका एक नेताले गरे।

‘उहाँहरुबीच नियमित भेट भइरहेको छ, समान विचारधारा भएको, दुवै नेता आन्दोलनबाट उदाएको र लक्ष्यसमेत समान भएका कारण चाँडै यी दुई दलबीच एकता हुँदैछ,’ जनमत पार्टीका एक नेताले भने, ‘केही अवरोध अवश्य पनि छ, तर, त्यसलाई चिर्दै चाँडै एकताको घोषणा हुन्छ।’

शक्ति केन्द्रहरुले मधेस केन्द्रित दलहरुबी सकेसम्म पार्टी एकता नै गराउने, त्यसो हुन नसके, मोर्चा बन्दी गराउने रणनीति लिएको बताइन्छ। सबै दलबीच एकता गराउँदा पार्टीमा असन्तुष्टि बढ्ने र विभाजित भएर फेरि कांग्रेस–एमालेसँग मिल्न सक्ने भन्दै तत्काल एकता भन्दा पनि मोर्चा बन्दी गराउनु पर्ने भन्दै केही दल भने मोर्चा बन्दीको तयारीमा लागेका छन्।

मधेस केन्द्रित दलहरुबीचको एकतामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भने सहभागी छैन।