अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
_fgrk3DD3Rv_hhjnujxlmqdylefvit9qfzl2vmmxzqrdjzweuyrxpmfeu93ieksmfwo5ayuq_laydK8SfJM_xnnot3alsiu6tdd1409khjlsipcfyfozqjpgrk3hkx5fqkubfmz0qivvkhza.jpg)
काठमाडौं, २६ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा संखुवासभाको मकालु गाउँपालिका-२ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका-८ हात्तीगौंडा बस्ने २१ वर्षीय सालिकराम बानियाँ र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-१४ चोभार बस्ने ३१ वर्षीया एलिना पुरी रहेका छन् ।
पक्राउ परेकामध्ये सालिकरामले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ र एलिनाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई आइतबार काठमाडौंको टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।