सोमबार २६ फागुन, २०८१

माओवादी प्रवक्ता सापकोटा भन्छन्- राजा फर्कने कुरा असम्भव, अब त्यस्तो सपनामा मात्रै हुन्छ

माओवादी प्रवक्ता सापकोटा भन्छन्- राजा फर्कने कुरा असम्भव, अब त्यस्तो सपनामा मात्रै हुन्छ

काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्रले जनताले रगतको पोखरीमा पौडी खेल्दै गणतन्त्र ल्याएकाले राजा फर्कने कुरा असम्भव रहेको जनाएको छ । 

सोमबार बसेको पार्टीको पदाधिकारी बैठक पनि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता अग्नि सापकोटाले संसारभरी नै अहिले अराजकता र अन्योल जस्तो स्थिति रहेको भन्दै धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर सोच बनाउनु सपना मात्र हुने बताए । 

उनले भने, ‘हामीले गणतन्त्र त रगतको पोखरीमा पौडी खेल्दै ल्याएका हौ नि त । हामीलाई जनताप्रति धेरै विश्वास छ । संसारभरी अहिले अराजकता छ । अन्योल जस्तो स्थिति छ । यही परिस्थितिमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मारतिमा कोही लागेका छन् । त्यो सपनामा मात्रै हुन्छ । सफल हुँदैन ।’

तस्तै उनले राजाले शासन छाडेपछि पनि माओवादीले राजसंस्था ल्याउन खोजेको थियो भन्ने जनतालाई भ्रमित पार्ने उद्देश्यले आरोप लगाइएको बताए । 

उनले भने, ‘माओवादीले राजा ल्याउने कुरा कल्पनापनि गर्न सक्दैन । माओवादीले ल्याउन खोजेको भनेर एउटा भाष्य बनाउन खोजिएको मात्र हो । जनतालाई भ्रमित पार्ने उद्देश्य अन्तर्निहित छ । जनता भ्रमित हुँदैनन् ।’