सोमबार २६ फागुन, २०८१

समाजवादी मोर्चाको बैठक ४ बजे बस्दै, राजावादी शक्तिको प्रतिरोधमा काउन्टर जुलुस निकाल्ने तयारी

समाजवादी मोर्चाको बैठक ४ बजे बस्दै, राजावादी शक्तिको प्रतिरोधमा काउन्टर जुलुस निकाल्ने तयारी

काठमाडौं, २६ फागुन । चार कम्युनिष्ट घटक मिलेर बनेको समाजवादी मोर्चाको बैठक आह्वान भएको छ । दिउँसो ४ बजे बस्नेगरि मोर्चाको बैठक आह्वान गरिएको हो ।

आजको बैठकमा पछिल्ला दिनमा राजावादी शक्तिहरुको आन्दोलन र यसले पार्ने प्रभावबारे छलफल हुनेछ । समाजवादी मोर्चाले राजावादी शक्तिको प्रतिरोधमा काउन्टर जुलुस निकाल्ने तयारी गरेको छ । सोबारे आजको बैठकले निर्णय गर्नेछ ।

सोमबार बिहान प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो । सिंगो नेतृत्व पँक्ति पार्टीको एक महिने ‘जनतासँग माओवादी’ अभियान रोकेर काठमाडौंमा भेला भएको माओवादीले पदाधिकारी बैठकमा राजावादीविरुद्ध सशक्त प्रतिकारमा उत्रिनुपर्ने निश्कर्ष निकालेको छ ।

माओवादीले राजावादीहरुको प्रदर्शनलाई गणतन्त्रमाथिको थ्रेट र बाहृय शक्तिको उक्साहट हुनसक्ने निश्कर्ष निकालेर सडकबाटै सशक्त प्रतिवाद गर्ने निश्कर्ष निकालेको छ ।

गणतन्त्र पक्षधरहरुसँगको सहकार्यमा तत्कालै सडकमा शक्ति प्रदर्शन गरिने माओवादीको तयारी छ । त्यसको लागि सुरुमा समाजवादी मोर्चाको बैठक बस्ने र मोर्चामा आवद्ध दलहरुको संयुक्त प्रदर्शन गरिने तयारी भएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

समाजवादी मोर्चामा भएका दलहरुले बेग्लाबेग्लै प्रदर्शन गर्नुभन्दा एकीकृत प्रदर्शन गर्दा राम्रो सन्देश जाने माओवादीको बुझाई छ । नेकपाका महासचिव नेत्रविक्रम चन्दपनि आजै काठमाडौं आईपुग्ने बताईएको छ । नेपाली जनताले आन्दोलनको बलबाट फ्याँकेको पात्रले फेरि सक्रियता देखाउनु र टाउको उठाउनु गणतन्त्रमाथिको खतरा भनेर प्रचण्डले निश्कर्ष निकालेका छन् ।