निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको १६औँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको बताए ।
सरकारले शुल्क तिर्न नसक्ने बालबालिकालाई निःशुल्क शिक्षा दिने र यसमा निजी क्षेत्रको पनि साथ लिने उनले स्पष्ट गरे । शिक्षा क्षेत्रमा तपाईंहरु लगानी गर्नुस् । नियम, कानुनबमोजिम सम्पत्तिको हकको प्रयोग गरे । यो उद्योग होइन । अत्यधिक मुनाफा ननिकाल्नुस्, प्रधानमन्त्री ओलीले भने, लगानी गरेर स्वदेशमै गुणस्तरीय शिक्षा दिनुस् । दक्ष र कुशल नागरिक उत्पादन गर्नुस् । लगानी गरेपछि कानुनले नाफा लिन पाइन्न भन्दैन । सेवा दिनुस् तर तपाईंहरु जोगी पनि नहुनुस् ।
प्रधानमन्त्री ओलीले देशभक्ति, स्वाधीनता, वीरताको इतिहास सिकाउन र अरूको दान दक्षिणामा भर नपरी आफ्नै पाखुरामा विश्वास गर्न अभिप्रेरित गर्नेगरी अध्ययन अध्यापन केन्द्रित हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्याब्सन गौरव, प्याब्सन रत्न आदि सम्मानबाट पूर्वअध्यक्ष भोजबहादुर शाह, लक्ष्यबहादुर केसी, डा विजय सम्बाहाम्फेलगायतलाई सम्मान प्रदान गरे ।