आइतबार २१ मंसिर, २०८२

रास्वपा सांसद सुमनाले संसद्‍ बैठकमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको भनेपछि…

रास्वपा सांसद सुमनाले संसद्‍ बैठकमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको भनेपछि…

काठमाडौं, २८ फागुन ।  नेपाली कांग्रेसका सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा रास्वपा सांसद श्रेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गरेको आरोप लगाएपछि कांग्रेसका सांसदहरुले आपत्ति जनाएका हुन्।

उनीहरुले गैरजिम्मेवार ढंगले आफ्ना नेतामाथि आरोप लगाएकाले तथ्य पुष्टि गर्नुपर्ने भन्दै उठेर विरोध जनाएका थिए ।

शून्य समयमा सांसद श्रेष्ठले काठमाडौँ क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ को लोकतान्त्रिक चोकमा रहेको कित्ता नम्बर ६२ र ६३ को सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको आरोप लगाएकी उनले स्थानीय बासिन्दाको उजुरीको बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको बताएकी थिइन्।

सांसद श्रेष्ठको आरोप पछि कांग्रेस सांसदहरुले उठेर आपत्ति जनाएका थिए। उनीहरुले सांसद श्रेष्ठको अभिव्यक्ति रेडर्कबाट हटाउन समेत माग गरेका थिए। सभामुख देवराज घिमिरेले प्रमाणित ढंगले आफ्नो अभिव्यक्ति राख्नुपर्ने बताएका थिए।

यस विषयमा आएका विवादलाई प्रक्रियागत ढंगले समाधान खोज्नुपर्ने भन्दै उनले कांग्रेस सांसदलाई बस्न आग्रह गरेका थए। त्यसपछि कांग्रेस सांसदहरुले आसन ग्रहण गरेपछि सभामुखले बैठक अघि बढाएका थिए।