सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम गरेको छ : पूर्ण बस्नेत

काठमाडौं, १ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाएका छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकार असफल र असक्षम सावित भएको पार्टीको निष्कर्ष रहेको भन्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘वर्तमान सरकारसँग भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्ने कुनै ठोस नीति, कार्यक्रम र योजना छ्रैन । देशको अर्थतन्त्रलाई कमजोर बनाउने, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न नसक्ने, नीतिगत तथा संस्थागत सुधार ल्याउन नसक्ने सरकारले जनतामा नैराश्यता बढाएको छ ।’
‘वर्तमान सरकारले आपूर्ति व्यवस्थामा सुधार ल्याउन नसकेको, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न नसकेको, गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको, समाजमा विद्यमान विभिन्न खाले विभेद अन्त्य गर्न, पर्यावरणीय सन्तुलन कायम गर्न नसकेको, राष्ट्रिय हितको रक्षा र राष्ट्रिय हितअनुकुल परराष्ट्र नीति कायम गर्न नसकेको पार्टीको निष्कर्ष छ,’ प्रमुख बस्नेतले भने ।