रास्वपा मुख्यालयमा शिक्षकहरूको धर्ना

काठमाडौं, ३ चैत । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन अन्तर्गत आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय वनस्थलीमा धर्ना दिएको छ ।
शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिस डाँडामा धर्ना दिएका शिक्षकहरूले आज रास्वपा पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।
शिक्षकहरुले मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा, बुधबार एमाले कार्यालयमा धर्ना दिएका थिए ।
दोस्रो चरणको आन्दोलन अन्तर्गत उनीहरूले चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेका छन् ।
विद्यालय शिक्षा ऐन यही हिउँदे अधिवेशनबाट जारी गर्नुपर्ने शिक्षक महासंघको माग रहेको छ ।
शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, बालविकास कार्यक्रम, विशेष शिक्षा र सरकारी तथा निजी विद्यालयबीचको भेदभाव हटाउनुपर्ने मागसहित महासंघ दोस्रो चरणको आन्दोलनमा छ ।
महासंघले पहिलो चरणको आन्दोलनपछि पनि ठोस पहल नभएको भन्दै अब संघर्षलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ ।
पार्टी कार्यालयहरूमा धर्नाको कार्यक्रमपछि सांसदहरूसँग भेटघाट तथा चैत २० बाट पक्षीकरण, काठमाडौंमा रिले अनसन र काठमाडौं केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासंघको तयारी छ ।