आइतबार ०३ चैत, २०८१

केएसएलका सञ्चालक संग्रौलामाथि लागेको आरोपबारे छानबिन गर्न समिति गठन

केएसएलका सञ्चालक संग्रौलामाथि लागेको आरोपबारे छानबिन गर्न समिति गठन

काठमाडौं, ३ चैत । काठमाडौँ स्कुल अफ ल (केएसएल) का कार्यकारी निर्देशक डा. युवराज संग्रौला जोडिएको विद्यार्थीलाई दुर्व्यवहार गरिएको आरोपमा छानबिन गर्न समिति गठन भएको छ ।

पूर्वविद्यार्थीहरूले समेत यो घटनामा स्वतन्त्र छानबिन गर्न माग गरेपछि बसेको व्यवस्थापन समितिको बैठकले स्वतन्त्र छानबिन समिति गठन गर्ने निर्णय गरेको प्राध्यापक अञ्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार व्यवस्थापन समितिको निर्णय अनुसार, पूर्वजिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी सदस्य रहेको समिति बनाइएको छ ।

केएसएलले आइतबार गरेको पत्रकार सम्मेलनमा प्राध्यापक दाहालले यो समितिलाई ‘तटस्थ जाँचबुझ समिति’ भनेका छन् र यसको सदस्य सचिव कलेजको आन्तरिक उजुरी तथा गुनासो समितिका संयोजक हुने भनेका छन् ।

समितिलाई १५ दिनभित्र उजुरीबारे छानबिन गरेर व्यवस्थापन समिति समक्ष राय पेश गर्न भनिएको उनले बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक संग्रौलाले पनि आफूले स्वतन्त्र छानबिनलाई सहयोग गर्ने बताएका छन् ।

कलेजको पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थीले संग्रौलाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत एक विद्यार्थीले पूर्वमहान्यायाधिवक्ता समेत रहेका संग्रौलाले कलेजमा छात्राहरूसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको सार्वजनिक गरेकी थिइन् ।