१० वर्षदेखि चोरीमा संलग्न व्यक्ति पक्राउ, मूर्तिदेखि हतियारसम्म बरामद

काठमाडौं, ५ चैत । १० वर्षदेखि चोरी गर्दै आएको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् ।
नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ घर भई ललितपुर महानगरपालिका-१३ धापाखेल कर्मनाशा बस्ने ३० वर्षीय विक्रम न्यौपाने पक्राउ परेका छन् ।
सोमबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
उनीबाट प्रहरीले चामा चरेसका विभिन्न ३४ थान भाडा बरामद गरेको छ । डिजिटल क्यामेरा ३ थान, फलामको खुकुरी, खुँडा, बन्चरो, चक्कुलगायत १३ थान हतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।
विभिन्न ब्राण्डका ९ थान मोबाइल, एप्पलको आइप्याड एक थान, १५ थान घडी, १८ हजार नेपाली रुपैयाँ, पुराना सिक्काहरु, एक/एक थान मोटरसाइकल र स्कुटर, विभिन्न देशका १६ थान नोट, सुन चाँदीका गरगहनाहरु र बुद्धको मूर्ति १ थान बरामद भएको छ ।
उनले हतियार देखाएर चोरीदेखि लुटपाटका श्रृखलाहरु चलाएको प्रहरीको दाबी छ ।
उनी विगत १० वर्षदेखि चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ । लामो समयदेखि प्रहरीको खोजीमा रहे पनि उनी पक्राउ पर्न सकेका थिएनन् ।