बुधबार ०६ चैत, २०८१

चैत ६ गतेदेखि शुक्र अस्त : शास्त्रीय मान्यताअनुसार के गर्नुहुन्छ, के गर्नु हुँदैन ?

चैत ६ गतेदेखि शुक्र अस्त : शास्त्रीय मान्यताअनुसार के गर्नुहुन्छ, के गर्नु हुँदैन ?

काठमाडौं, ६ चैत । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बुधबार रातिदेखि शुक्र ग्रह अस्त भएको जनाएको छ। चैत ६ गते बुधबार राति ७:२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १:१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ।

शास्त्रीय मान्यताअनुसार शुक्र ग्रह अस्त भएका बेला केही धार्मिक तथा शुभकार्य गर्न नहुने मान्यता छ। विशेष रूपमा विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवजस्ता कार्य निषेध गरिएका छन्। तर, नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, न्वारन, पास्नी, श्राद्ध तथा मासिक कार्य भने गर्न सकिने उल्लेख छ।

धार्मिक दृष्टिले बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य मानिन्छन्। हिन्दू परम्पराअनुसार शुक्र ग्रह हरेक वर्ष निश्चित समयमा अस्त हुन्छ। जब शुक्र ग्रह पृथ्वी नजिक आइपुग्छ, सूर्यको तेजस्वी प्रकाशले त्यसलाई ओझेल पार्छ, जसलाई शुक्र अस्त भनिन्छ।

शास्त्रीय मान्यताअनुसार शुक्र अस्त हुनु डेढ दिनअघि र उदाएको डेढ दिनपछि सम्म विशेष शुभकार्य गर्नु अशुभ मानिन्छ। काम्य कर्मअन्तर्गत जुराएर वा हेराएर गरिने कार्यहरू रोक्नुपर्ने हुन्छ। नयाँ गृह निर्माण, नवगृह प्रवेश, नयाँ व्रतको आरम्भ, मन्दिर निर्माण, मूर्ति स्थापना, सप्ताह, नवाह अनुष्ठान, व्रतबन्ध तथा विवाह जस्ता कार्य शुक्र अस्त अवधिमा नगर्नु पर्ने शास्त्रीय मान्यता छ।

शुक्र अस्त भएकाले पोखरी, इनार खन्न, मन्दिर बनाउने, पहिलो पटक कपाल मुण्डन गर्ने, तीर्थयात्रा गर्ने, देव प्रतिष्ठा गर्ने, कान छेड्ने, व्रतबन्ध तथा विवाहजस्ता कर्महरू रोक्नुपर्ने उल्लेख छ। त्यस्तै, बगैँचा निर्माण, गृहारम्भ, चान्द्रायण व्रत, तुलादान, व्रत सुरु वा समापन, विद्यारम्भ संस्कार, देवस्थापन, प्राण प्रतिष्ठा, सन्यास ग्रहण, राजाभिषेक, यात्रा तथा विशेष परीक्षा गर्नु उचित नहुने शास्त्रीय मान्यता रहेको छ।

शुक्र अस्त अवधिमा ग्रहको प्रभाव कम हुने भएकाले शुक्र ग्रहको दशामा रहेका व्यक्तिलाई अपेक्षित शुभफल प्राप्त नहुन सक्ने बताइन्छ। यस अवधिमा शुभकर्म नगर्नु पर्ने उल्लेख गरिए पनि गयाश्राद्ध तथा गोदावरी यात्रा भने गर्न सकिने वायुपुराणमा उल्लेख छ।

यस अवधिमा नित्य कर्मजस्तै श्राद्ध, वार्षिकी, लिँदै आएको व्रत तथा उपासना रोक्नुपर्दैन। अत्यावश्यक ग्रहशान्ति, रोगशान्ति तथा नित्य पूजापाठ निरन्तर गर्न सकिने उल्लेख छ। यसैले, शुक्र अस्त अवधिमा विशेष धार्मिक अनुशासन पालना गर्नुपर्ने ज्योतिषीय मान्यता रहेको छ।