बुधबार ०६ चैत, २०८१

बीमा प्राधिकरणद्वारा बीमकहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन

बीमा प्राधिकरणद्वारा बीमकहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन

काठमाडौं, ६ चैत । नेपाल बीमा प्राधिकरणले सबै जीवन बीमा, निर्जीवन बीमा तथा पुनर्बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ। प्राधिकरणका अनुसार, बीमा कम्पनीहरूले लगानी व्यवस्थापन कार्य अनुभव भएका उच्च व्यवस्थापन तहका कर्मचारीको नेतृत्वमा इकाई गठन गरी सात दिनभित्र जानकारी दिनुपर्नेछ।

यसैगरी, लघुबीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीहरूले पनि लगानी व्यवस्थापन कार्य अनुभव भएको उच्च तहका कर्मचारीलाई जिम्मेवारी दिई सात दिनभित्र प्राधिकरणलाई जानकारी गराउनुपर्ने निर्देशन जारी गरिएको छ।

यदि कुनै बीमा कम्पनीहरूले यसअघि नै लगानी व्यवस्थापनको संरचना बनाइसकेका छन् भने, त्यससम्बन्धी विवरणसमेत सात दिनभित्र प्राधिकरणलाई बुझाउनुपर्नेछ।

बीमा क्षेत्रमा लगानी व्यवस्थापनलाई थप व्यवस्थित बनाउन र नियमन प्रक्रिया प्रभावकारी बनाउन प्राधिकरणले यो निर्देशन जारी गरेको बताइएको छ ।