बुधबार ०६ चैत, २०८१

कहाँ–कहाँ हुन सकेन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण ?

कहाँ–कहाँ हुन सकेन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण ?

काठमाडौं, ६ चैत । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण कार्य १६ जिल्लामा गति लिन नसकेको निष्कर्ष निकालेको छ ।

सदस्यता व्यवस्थापन समितिको बैठक समिति सदस्यहरूले कतिपय जिल्लामा वितरणको प्रक्रिया ठप्प रहेको ब्रिफिङ गरेका थिए । महामन्त्री गगन थापाको नेतृत्वमा बनेको सदस्यता व्यवस्थापन समितिका सदस्यहरूले प्रदेशगत अवस्थाको जानकारी मंगलबार गराएका हुन् ।

समितिका सदस्यहरू सीता गुरुङ, प्रकाश स्नेही रसाइली र योगेन्द्र चौधरीले हालसम्म सदस्य वितरणमा भएको प्रगति र समस्याबारे समितिको बैठकमा अवगत गराएका थिए ।

क्रियाशील सदस्यता फर्म जिल्लामा पठाएपनि पार्टीको समूहगत समस्याले तल्लो तहमा वितरण हुन नसकेको नेताहरूले जानकारी गराएका थिए । एक पक्षको जिल्ला सभापति भएको जिल्लामा प्रदेश सभा क्षेत्रीय सभापति अर्को पक्षका हुँदा नवीकरणमा समस्या आएको समेत नेताहरूले बताएका छन् ।

कोशीमा सोलुखुम्बु र खोटाङमा क्रियाशील सदस्यता नवीकरण हुन नसकेको जानकारी गराइएको छ । सोलुखुम्बुमा नवीकरणको फर्म केन्द्रबाट पठाइएको तर तल्लो तहमा जिल्ला सभापतिले नपठाएको जानकारी गराइएको छ । सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले नवीकरणको फर्म आफैंसँग राखेर केन्द्रको निर्णय कार्यान्वयन नगरेको जानकारी गराइएको छ ।

खोटाङमा पार्टीभित्रका तीन पक्ष जिल्ला सभापति विष्णुकुमार राईसँग असन्तुष्ट हुँदा नवीकरण प्रक्रिया अघि बढ्न सकेको छैन । कोशीका महामन्त्री भूपेन्द्र राई, केन्द्रीय सदस्य सरस्वती वजिमय, पूर्व जिल्ला सभापति नरेश श्रेष्ठ पक्षले नवीकरण नगर्ने अडान राख्दा नवीकरण नभएको समिति बैठकमा छलफल भएको थियो ।

जिल्ला सभापतिविरुद्ध तीन पक्ष रहँदा नवीकरण हुन नसकेको बताइएको छ ।

समिति सदस्य एवं केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार मधेस प्रदेशमा सप्तरी, सर्लाहीको ४, बाराको १ र ३, पर्साको १, रौतहटको १ र २ मा नवीकरणको काम अघि बढ्न सकेको छैन । रसाइलीले भने, ‘क्रियाशील सदस्यता फर्म मााथि राखेर तल्लो तहमा वितरण नगरेको पाइएको छ ।’

बागमतीमा रामेछाप र सिन्धुपाल्चोकमा नवीकरण सम्बन्धी पूरानै विवाद कायम रहेको छ । मुस्ताङ जिल्ला सभापति रोमी गौचनले क्रियाशील सदस्यता नवीकरणको फर्म केन्द्रबाट बुझेकै छैनन् । मनाङमा भने थप क्रियाशील सदस्यता फर्मको माग भएकाले पठाउने निर्णय समितिले गरेको छ ।

लुम्बिनीमा रुपन्देही– ४, कपिलवस्तु– ३, बाँके– ३ मा रहेको नवीकरणको समस्या समाधानउन्मुख भएको बैठकमा ब्रिफिङ गरिएको थियो ।

सुर्खेतमा नेता हृदयराम थानीको क्षेत्रमा नवीकरणको प्रक्रिया अघि बढ्न नसकेको जानकारी गराइएको छ भने सुदूरपश्चिममा कैलाली–१ मा समस्या छ ।

यसवर्षभित्र क्रियाशील सदस्यता नवीकरण सक्ने कांग्रेसको योजना छ ।