राजसंस्था फर्काउने होइन, आफैंभित्र रहेको राजतन्त्र पनि अन्त गर्नुपर्छः माओवादी उपमहासचिव शर्मा

काठमाडौं, ६ चैत । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले वंशनाससँगै अन्त्य भएको राजतन्त्र फेरि नफर्किने बताएका छन् ।
आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले सार्वभौम भइसकेका जनताले फेरि राजतन्त्र ल्याउने मुर्खता नगर्ने बताए । उनले बरु नेता र नेतृत्वमा रहेको राजतन्त्रात्मक सोच, शैली, प्रवृत्ति र व्यवहारको अन्त्य हुन जरुरी रहेको उनको भनाइ छ ।
‘वंशनाससँगै समाप्त भएको राजतन्त्र फेरि फर्किँदैन र सार्वभौम भएका जनताले फेरि राजतन्त्र ल्याउने मुर्खता पनि गर्दैनन् भन्ने कुरा स्पष्ट गर्न चाहन्छु । बरु समाजमा रहेको बाँकी राजतन्त्रात्मक सोच, शैली, प्रवृत्ति र व्यवहारमा भने अन्त गर्नैपर्छ । आफैंभित्रको राजतन्त्रलाई अन्त गर्नु लाग्नुपर्छ । आजको मुख्य काम यही हो,’– उनले भने ।
आफूलाई राजतन्त्र फर्किन्छ भन्ने डर नरहेको, केवल नेता र नेतृत्वहरुले आ–आफ्नो कमीकमजोरीहरु स्विकार गरेर सच्चिन सक्छन् कि सक्दैनन् भन्नेमात्रै डर रहेको उनले बताए ।