शुक्रबार ०८ चैत, २०८१

कोशी प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस

कोशी प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस

विराटनगर, ७ चैत । कोशी प्रदेश सरकारले प्रदेश सभाको चालु छैठौँ अधिवेशन आज राति १२ बजेबाट अन्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको कोशी प्रदेश  सरकारका प्रवक्ता रेवती रमण भण्डारीले जानकारी दिए । 

प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

उनका अनुसार बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय गरेको छ। त्यस्तै, समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरेको छ । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रकम बाँडफाट गर्न स्वीकृत प्रदान प्रदान गरिएको छ। 

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा १ अर्ब ५० करोड तथा राजस्व बाँडफाटको अनुमानित सीमा १ अर्ब १० करोड स्वीकृत गर्नेसमेत निर्णय गरेको छ । 

बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि १ करोड ५० लाख बाँडफाट गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको उनले बताए । 

राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज २०८१ पनि बैठकले  स्वीकृत गरेको छ ।