प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा छु : प्रधानमन्त्री ओली

काठमाडौं, ७ चैत । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा आफू रहेको बताएका छन् ।
आज (बिहीबार) प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा उठेका सवालहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई टुंगोमा पुर्याउन आफूले सम्पर्क गर्न खोजेको भएपनि स्वास्थ्यमा समस्या आएर प्रचण्ड सम्पर्कमा आउन नसकेको पनि बताएका छन् ।
उनले भने, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा अहिले पनि म प्रयासरत छु ।
यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु । मैले पटकपटक प्रयास गर्दा उहाँ स्वास्थ्यमा केही सम्पर्क गर्न नसक्नुभएको जवाफ पाएको छु ।’ प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्क हुनासाथ शान्ति प्रक्रियाका बाँकी काम अघि बढ्ने पनि बताएका छन् ।