छाङ्गरु पुग्ने घोडेटो बनाउन ५ करोड बजेट दिइसकेका छौँ‚ बनिरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुलाको विकट गाउँ छाङ्गरुमा घोडेटो बाटो निर्माण भइरहेको बताएका छन्।
बिहीवार प्रतिनिधिसभाको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले स्थानीयहरुको मागबमोजिम सडक निर्माणका लागि ५ करोड बजेट निकासा भएको बताए।
उक्त बाटो निर्माण पूरा भएपछि आफ्नो देशको भूभागमा जान छिमेकी देशको बाटो प्रयोग गर्न नपर्ने उनको भनाइ छ।
‘दार्चुलाको सदरमुकाम खलङ्गाबाट उत्तरपट्टि नेपालका छाङ्गरुलगायतका गाउँहरु छन्। सरकारलाई थाहा छ छाङ्गरु जानका लागि बाटो रैनछ, अहिले नभएको होइन इतिहासदेखि नै थिएन‚’ उनले भने, ‘अहिले त्यस सम्बन्धमा तत्कालका लागि अर्को देशको बाटो भएर जान नपरोस् आफ्नो देश आफ्नै बाटो भएर जान पाइयोस् भनेर त्यहाँका जनताले माग राख्नु भएबमोजिम तत्कालका लागि कति बजेट चाहिन्छ भन्दा ५ करोड बजेट चाहिन्छ त्यति भए हामी घोडेटो बाटो बनाउन सक्छौँ त्यो बाटोले पारिपट्टि भएर जानुपर्दैन त्यसो भएर हामीलाई घोडेटो बाटो बनाउन सहयोग गरियोस् भनेर उहाँहरुले भने बमोजिम ५ करोड रकम निकासा गरेर अहिले आफ्नै देशबाट आफ्नो भूभाग जाने बाटो धमाधम निर्माण भइरहेको छ ।’
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश विकट भएकाले नेपाली सेनामार्फत सबै सदरमुकामहरुमा सडकमार्ग पुर्याउने काम भइरहेको बताए।
