सोमबार ११ चैत, २०८१

देहरादून मेला : भारतीयको रोजाइमा नेपाली सिन्की, हस्तकला र विजयसालका भाँडा

देहरादून मेला  : भारतीयको रोजाइमा नेपाली सिन्की, हस्तकला र विजयसालका भाँडा

काठमाडौं, ९ चैत । ‘आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्,’ कञ्चनपुरका गणेशराज बोहोराले भारतको देहरादूनमा शुक्रबारदेखि सुरु भएको इन्डो–नेपाल व्यापार मेलामा विजयसालका भाँडा देखाउँदै भने, ‘यी भाँडामा पानी राखेर खाँदा धेरै फाइदा छन्।’

बोहोराले मेलामा आएका अवलोकनकर्तालाई विजयसालका भाँडामा पानी राखेर खाँदा हुने फाइदा एक–एक गरेर सुनाए। ‘रातभर यी भाँडामा पानी राखेर बिहान खाली पेटमा पिउँदा मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल, शरीरको दुखाइ निको हुन्छ र तौल नियन्त्रणमा पनि मद्दत गर्छ,’ उनले भने। उपभोक्ताले उनको कुरा चाख मानेर सुने।

‘भाँडा बनाउनेले आयुर्वेदका कुरा गर्न नसुहाउला, म धेरै जान्दिनँ, इन्टरनेटमा सर्च गर्नुहोस्,’ उनले थपे। सामान बिक्री गर्नुभन्दा जानकारी दिनु आफ्नो उद्देश्य भएको उनको भनाइ छ। सबैले महत्व बुझेपछि सामान बिक्री गर्न समय नलाग्ने उनले ठानेका छन्। त्यसैले उनले फोटो खिच्न र युट्युबमा भिडियो हेर्न आग्रह गरे। 

‘आज नकिन्नेले घर गएर युट्युबमा हेरेर भोलि किन्न आउँछन्, त्यसैले फोटो खिच्न भनिरहेको छु,’ उनले भने। अघिल्ला दुई महोत्सवमा राम्रो व्यापार भएकाले उत्साहित बोहोराले यसपटक १०२ वटा काठका भाँडा ल्याएका छन्। उद्घाटन नहुँदै नौ वटा बिक्री भइसकेको उनले बताए। ‘पहिलो वर्ष १५० र दोस्रो वर्ष २३० वटा २–३ दिनमै बिक्री भए, यसपटक पनि सुरुआत राम्रो छ,’ उनले भने। 

उनले विजयसालको काठबाट आम्खोरा, गिलास, कप र साना आकर्षक टुक्रा बनाएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसी मेरिट महिला मार्केटिङका सञ्चालक बोहोराले २०५७ देखि विजयसालका भाँडा बनाउन थालेका हुन्। ‘पहिले धेरै भाँडा बनाउँथेँ, अहिले काठ पाउन छाड्यो। कुनै बेला वर्षमा १० हजारसम्म बनाएँ, अहिले ३–४ सय पनि पुग्दैन,’ उनले भने। विजयसाललाई संरक्षित बोटको सूचीमा राखिएपछि काठ पाउन गाह्रो भएको उनको भनाइ छ। 

कञ्चनपुर, कैलाली र कपिलवस्तुका वनमा यो काठ बढी पाइन्छ। अहिले कञ्चनपुरका वनमा ढलेका काठ बोलपत्रबाट किन्नुपर्छ। एक क्युफिटको तीन हजार तीन सय रुपैयाँ पर्छ, तर पनि पाउन मुस्किल छ। काठको अभाव भएपछि बोहोराले भीमदत्त, बेदकोट र बेलोरीमा ३०० विरुवा वितरण गरेका छन्। आफैँले पनि तीन बोट रोपेका छन्।

‘मैले रोपेको २० वर्ष भयो, २०–२२ फिट अग्लो भएको छ। यो काठ मात्र होइन, खोट र पात पनि औषधिका लागि प्रयोग हुन्छ,’ उनले भने। महोत्सवमा विजयसालका भाँडासँगै रुद्राक्ष, बोधिचित्तको माला, सल्यानको खुकुरी, पाल्पाको ढाका, सिन्की, पोते, मस्यौरा, रुकुम–रोल्पाको भीरमौरीको मह र थाङ्का चित्रकलाले पनि देहरादूनबासीको ध्यान तानेको छ। नेपाली हस्तकलाप्रति यहाँ धेरैको रुचि देखिएको छ।

चितवन भरतपुरबाट आएकी मान्द्रो नेपालकी सञ्चालक अम्बी धितालले मस्यौरा र तितौरा ल्याएको बताइन्। ‘हाम्रो ६० प्रतिशत उत्पादन विदेश निर्यात हुन्छ। यो महोत्सवले देहरादूनमा बजार विस्तारमा सघाउने अपेक्षा छ,’ उनले भनिन्। काठमाडौँ कीर्तिपुरकी राजधानी हस्तकलाकी सञ्चालक रजनी चित्रकारले यो महोत्सवमा तीन पटक भाग लिइसकेको बताइन्। ‘विगतमा राम्रो व्यापार भयो, त्यसैले यसपटक पनि आएँ। कञ्चनपुर उद्योग वाणिज्य सङ्घले सामान ल्याउन र निःशुल्क स्टलमा सहयोग गरेको छ,’ उनले भनिन्।  

कैलाली घोडाघोडी–२ की उमा खत्रीले महोत्सव नेपाली उत्पादनको प्रचारका लागि राम्रो भए पनि सामान ल्याउन सहज नभएको बताइन्। ‘सीमाबाट सामान ओसार्न सजिलो भए दुई देशका सरकारले ध्यान दिनुपर्छ,’ नेपाल मौरीपालन सङ्घकी केन्द्रीय उपाध्यक्ष खत्रीले भनिन्। काठमाडौँ नागार्जुनकी संगीता गुरुङले रोल्पा–रुकुमको भीरमौरीको मह, टिमुर र कोदोको पीठो ल्याएको बताइन्। ‘श्रीमान् ओमप्रकाश आफैँ मह निकाल्न जान्छन्। महोत्सवले बिक्रीमा सजिलो बनाएको छ,’ उनले भनिन्।

काठमाडौँ कोटेश्वरका करुण राईले हातले बुनेका ढाकाका पोशाक ल्याएका छन्। ‘यो पोशाक मात्र होइन, नेपाली हस्तकलाको प्रवर्द्धन पनि हो। देहरादूनमा धेरै नेपाली भएकाले आएका हौँ,’ उनले भने। भक्तपुरका लायन तामाङले रुद्राक्ष, बोधिचित्तको माला र ५० हजारसम्मका थाङ्का ल्याएका छन्। 

‘महोत्सवले नेपाली चित्रकलालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सघाउँछ,’ उनले भने। महोत्सवमा अल्लोका वस्तु, सल्यानको खुकुरी, ढाकाका कपडा, पोते, जुत्ता र विभिन्न हस्तकला पनि प्रदर्शनमा छन्। यहाँ नेपालका ५० र भारतका १५० स्टल छन्। कमलकुमार बस्नेत र राजेन्द्र विष्ट/रासस