वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन

पर्सा, १० चैत । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व सङ्कलन भएको छ ।
कार्यालयले गत साउनमा तीन अर्ब ७५ करोड रुपैयाँ, भदौमा चार अर्ब ६४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । असोजमा चार अर्ब ३६ करोड रुपैयाँ, कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
यसैगरी, गत मङ्सिरमा तीन अर्ब २२ करोड रुपैयाँ, पुसमा तीन अर्ब ५६ करोड रुपैयाँ, माघमा चार अर्ब २९ करोड रुपैयाँ र फागुनमा चार अर्ब ६८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको हो । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुनमा नै सङ्कलन भएको छ ।