सदन नै बन्द गरेर उज्वेकिस्तान भ्रमणमा जाँदै सभामुख घिमिरे
काठमाडौं, १० चैत । संविधान कार्यान्वयन र संघीयता सुदृढ गर्नुपर्नेसहितका अत्यावश्यक कानुन निर्माण तथा आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रिबजेट)मा छलफल चलाउनुपर्ने वेला सदन नै बन्द गरेर सभामुख साताव्यापी वैदेशिक भ्रमणमा जाँदै छन् ।
अन्तरव्यवस्थापिका संघ (आइपियू)को १५०औँ महासभामा सहभागी हुन सभामुख देवराज घिमिरे २२–२८ चैतसम्म संसद् बन्द गरेर उज्वेकिस्तान जान लागेका हुन् ।
५–९ अप्रिलसम्म हुने महासभामा भाग लिन सभामुखसहित नौ सदस्यीय टोली जाँदैछ । आइपियू जाने प्रतिनिधिमण्डलमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमालेकी राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य, माओवादी सांसद सूर्यमान दोङ, रास्वपा सांसद सोविता गौतम, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्क राई, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव राजु रिमाल र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई छन् ।
सकेसम्म भ्रमण रोक्न वा जानै परे सदन चलाउने जिम्मा उपसभामुखलाई दिएर जान सत्तापक्ष र प्रतिपक्षका सांसदको सभामुखलाई सुझाव छ । तर, सभामुख घिमिरे संसद् बन्द गर्ने निर्णयमै अडिग देखिएका छन् । सत्तारूढ दलकै सांसदले संसद् बन्द नगरी उपसभामुखमार्फत बैठक सञ्चालन गरी प्रिबजेट छलफल अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ६ (४) अनुसार सभामुखले लिखित निर्देशन दिएमा वा असाधारण परिस्थितिमा उपस्थित हुन नसकेमा उपसभामुखले बैठक सञ्चालन गर्न सक्ने प्रावधान छ । तर, सभामुखले यसमा चासो दिएका छैनन् । नियमावलीको यही व्यवस्था टेकेर २ चैतमा बसेको कार्यव्यवस्था तथा परामर्श समिति बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भ्रमणका वेला उपसभामुखबाट प्रिबजेट छलफल चलाउन मिल्दैन भनेर सोधेका थिए ।
सभामुख घिमिरेले ‘अहिलेसम्म दिने चलन छैन’ भनेर जवाफ दिएका थिए । प्रमुख सचेतक घिमिरेले उपसभामुखलाई बैठक सञ्चालन गर्न दिने अधिकार सभामुखको भएको बताए । नयाँ पत्रिकाबाट
