मंगलबार २६ चैत, २०८१

संवैधानिक परिषद् विधेयक अघि बढाउने तयारी

संवैधानिक परिषद् विधेयक अघि बढाउने तयारी

काठमाडौं, १० चैत । सरकारले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ अघि बढाउने तयारी गरेको छ ।

विधेयकमा केही सभाबाटै संशोधन गर्ने र अगाडि बढाउनेबारे छलफल चलिरहेको सत्तारुढ कांग्रेस र एमालेका नेताहरूले बताएका छन् ।

संशोधनको विषय भने खुलाएका छैनन् । यसअघि पटक–पटक कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत यो विधेयक अगाडि नबढेको भनेर विषय उठ्दै आएको छ । लामो समयसम्म सभामा विधेयक रोकिएको भनेर आलोचना समेत भएको पृष्ठभूमिमा विधेयक अगाडि बढाउन लागिएको नेताहरू बताउँछन् ।

नेकपा एमालेकी सचेतक सुनिता बराल पनि संवैधानिक परिषद सम्बन्धी विधेयक अगाडि बढाउन लागेको बताउँछिन् । उनका अनुसार अब केही समयभित्रै यसलाई अगाडि बढाउने तयारी छ । यो विधेयक १२ फागुन २०७९ मा प्रतिनिधिसभामा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राथमिकतामा राखेको भनिएको यो विधेयक उनी नेतृत्वको सरकार १८ महिना चल्दा प्रतिनिधिसभाले टुंगो लगाउन सकेन ।

गत ३० असारयता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार छ । ओली नेतृत्वको सरकारले बल्ल यो विधेयक अगाडि बढाउन लागेको हो ।