वीरगन्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौँ, १० चैत । बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र आमउपभोक्ताको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसनहरूको निर्माण अन्तिम चरणमा पुगेको छ ।
बाराको अमलेखगन्ज तथा प्रसौनी र पर्साको वीरगन्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरी सबस्टेसन र प्रसारणलाइन निर्माण जतिसक्दो छिटाे सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।
वीरगन्ज क्षेत्रको विद्युत् माग एवं आपूर्ति व्यवस्थापन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माणाधीन प्रसारणलाइन तथा सबस्टेसन महत्त्वपूर्ण रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो अवस्थामा संवेदनशील र जिम्मेवार भएर निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरे ।
पथलैया–सिमरा–वीरगन्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिको समस्या समाधान र बढ्दो माग पूर्ति गर्न अमलेखगन्ज १३२/६६ केभी सबस्टेसन तयार भएको छ । उक्त सबस्टेसनमा रहने अधिकांश मुख्य उपकरणहरू जडान भइसकेका छन् । अमलेखगन्ज सबस्टेसनलाई आगामी जेठको दोस्रो साता (मे २०२५)भित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरू भइरहेका छन् ।
पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारणलाइनमध्ये एउटा सर्किटलाई अमलेखगन्ज सबस्टेसनभित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट)गर्ने काम सकिएको छ । त्यस्तै, हेटौँडाबाट सिमरा–वीरगन्ज औद्योगिक करिडोरमा विद्युत् आपूर्ति गर्ने ६६ केभी लाइनको दुवै सर्किटलाई सबस्टेसनमा लुप इन र लुप आउट गरिसकिएको छ । हेटौँडाबाट गएको ६६ केभी लाइन लामो र क्षमता कम हुँदा सिमरा–वीरगन्ज औद्योगिक करिडोरमा भोल्टेजको समस्या थियो ।
६६ केभी लाइनको लम्बाइ पनि घट्ने र १३२ केभी प्रसारणलाइनबाट विद्युत् आपूर्तिको स्रोत हुने भएपछि अमलेखगन्ज सबस्टेसन सञ्चालनमा आएपछि सिमरा–वीरगन्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिमा सुधार हुनेछ । सबस्टेसनमा १३२/६६ केभी २०० एमभिए र ६६/११ केभी २० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरू रहेका छन् । स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ६ वटा फिडर रहनेछन् ।
प्रसौनी तथा वीरगन्ज सबस्टेसन र उक्त सबस्टेसनहरूलाई जोड्ने २.८ किलोमिटर १३२ केभी भूमिगत प्रसारणलाइन निर्माण भइरहेको छ । भूमिगत प्रसारणलाइन एक महिनाभित्र निर्माण सक्ने गरी काम भइरहेको छ । सबस्टेसनमा उपकरणहरू जडान र बाँकी रहेका सिभिल संरचनाहरूको काम जारी छ ।
भारत र नेपालबिचको रक्सौल–परवानीपुर १३२ केभी प्रसारणलाइनलाई प्रसौनी सबस्टेसनमा लुप इन र लुप आउट गरिनेछ । उक्त सबस्टेसनबाट भूमिगत प्रसारणलाइनमार्फत वीरगन्ज सबस्टेसनमा विद्युत् आपूर्ति दिइनेछ । हाल वीरगन्जमा चालू रहेको ६६/३३/११ केभी सबस्टेसनलाई विस्तार गरी १३२ केभी बनाउन लागिएको हो ।
सबस्टेसन र प्रसारणलाइन निर्माण सम्पन्न भएपछि वीरगन्ज क्षेत्रमा विद्युत् आपूर्तिका लागि १३२ र ६६ केभीको स्रोत हुनेछ । १३२ र ६६ केभी सबस्टेसन अन्तरआबद्ध हुने भएकाले विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउनेछ ।