माओवादी नेता किरातीको चेतावनीः पूर्वराजा ज्ञानेन्द्र बढी मच्चिए भने टाउको झर्न सक्छ

काठमाडौं, ११ चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले नेपालमा राजतन्त्र कहिले पनि नफर्किने बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब राजतन्त्र पुनर्स्थापना नहुने र डराउनुपर्ने अवस्था नरहेको बताएका हुन् । उनले राजतन्त्रको इतिहासमा संसारमा घटेका घटनाहरु पूर्वराजा ज्ञानेन्द्रले अध्ययन गर्नु आवश्यक रहेको उनले बताए । पूर्वराजा ज्ञानेन्द्रकै महत्वकांक्षाले उनको शीरबाट श्रीपेच झरेको बताउँदै उनले अझैं मच्चिँदै गए उनको टाउको नै झर्ने बताए ।
‘पूर्वराजा ज्ञानेन्द्रले हेक्का राख्नुपर्छ कि राजतन्त्रको इतिहासमा जे–जसरी संसारमा घटनाहरु घटे, त्यो अध्ययन गर्नुपर्छ । पहिला उहाँकै महत्वकांक्षाले गर्दा श्रीपेचलाई म्युजियममा लानुपर्यो, टाउकोबाट झर्यो । अब फेरि बढी मच्चियो भने टाउको पनि झर्न सक्छ,’– उनले भने ।
साथै, दलहरु र नेताहरुमा सामन्तवादको बचेखुचेका आवशेषहरु बाँकी रहँदा नागरिकहरुमा वितृष्णा पैदा भइरहेको बताए । ‘हामीले राजारानीले गर्ने ढर्रा गर्यों कि ? कतै हाम्रो दलभित्र लोकतन्त्र आएन कि ? गणतन्त्रको जरा हामीले जनतामा पुर्याउन सकेनौं कि ? यो चाहीँ गम्भीर र यक्ष प्रश्न भएर आएको छ,’– नेता किरातीले भने ।