सिँचाइ सुविधापछि तीन बाली खेती

फिक्कल (इलाम), ११ चैत । इलाम नगरपालिका–१० भिरगाउँमा सिँचाइ योजना पुनःर्निर्माण भएपछि किसानलाई खाद्यबालीसँगै तरकारीखेती गर्न सहज भएको छ । वर्षमा एक बालीमात्र उत्पादन हुँदै आएको सो क्षेत्रमा सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले तीन बालीसम्म खेती गर्न थालेका छन् ।
साना सिँचाइ कार्यक्रमअन्तर्गत रु ४१ लाख ९४ हजारको लागतमा मालबाँसे भिरगाउँ हुँदै तेस्रोगाउँ जोड्ने सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले राहत पाएका हुन् । स्थानीय अँधेरीखोलाबाट आठ सय ९५ मिटर लामो पक्की कुलो निर्माण भएको वडा नं १० का वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिए । आयोजनाबाट ३९ घरपरिवारको १५ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।
आयोजना पुनर्निर्माण सम्पन्न भई पानी आउन थालेपछि भिरगाउँका किसान खुसी भएका हुन् । पानी अभावमा खेत बाँझै राखेर बस्न विवश भिरगाउँका किसानलाई सिँचाइ आयोजनाले राहत मिलेको उपभोक्ता समितिका अध्यक्ष किशोर रम्तेलले बताए । स्वीडेन सरकारको रु १२ लाख ५८ हजार, सङ्घीय सरकार, प्रदेश सरकार र इलाम नगरपालिकाको आठ लाख ३८ हजारका दरले तथा स्थानीय उपभोक्ताको चार लाख १९ हजारको साझेदारीमा उक्त आयोजना पुनर्निर्माण गरिएको हो ।
आयोजना पुनर्निर्माणपछि धान, मकैजस्ता मौसमी बालीको मात्र खेती हुँदै आएको सो क्षेत्रमा अहिले मौसमी र बेमौसमी तरकारीसँगै नगदेबाली पनि उत्पादन हुन थालेको उपभोक्ता समिति सचिव मनकुमारी समालले बताए । 'पहिले मौसमी धान र मकैखेती मात्र गरिन्थ्यो, अहिले सिँचाइ सुविधा आएपछि बेमौसमी तरकारीको पनि व्यावसायिक खेती हुन थालेको छ,' सचिव समालले भने, 'यसबाट किसानको आर्थिक अवस्था सुधार आउने विश्वास छ ।'
स्थानीय उपभोक्ता भीमकुमारी मगर आयोजना पुनर्निर्माणसँगै अकासे पानीको भर पर्नुपर्ने बाध्यताबाट मुक्त भएकको बताउँछन् । अहिले भिरगाउँका किसान तीन बालीसम्म खेती गर्न थालेका छन् ।