अनशनमा शिक्षक : विद्यार्थी, शिक्षक, कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग

काठमाडौं, ११ चैत । शिक्षकहरू शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका छन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका हुन् । चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले १५ चैतसम्म अनशनमा बस्ने जनाएको छ ।
महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार धर्नामा बसेको आज ५ दिन भयो । ‘विगतमा भएको सहमति सम्बोधन हुनेगरी विद्यार्थी, शिक्षक, कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग राखेर अनशनमा बसेका हौं’, अध्यक्ष सुवेदीले भने ।
अनशन बिहान ८ देखि ६ बजेसम्म बस्ने उनले बताए । सहमति अनुसार ऐन जारी नभएसम्म आन्दोलन जारी रहने अडान शिक्षकहरूको छ ।