बुधबार १३ चैत, २०८१

ट्रम्प र मस्क : विश्व शासन प्रणालीमा देखिन सक्ने तीन परिदृश्य

ट्रम्प र मस्क : विश्व शासन प्रणालीमा देखिन सक्ने तीन परिदृश्य

अमेरिकी र विश्व शासन प्रणालीको भविष्यबारे तीन वटा सम्भावित परिदृश्य देखिन्छन् । पहिलो, ट्रम्प प्रशासनका कार्यकारी आदेशहरूलाई जनता र न्यायालयबाट प्रतिरोध गरिन्छ र अमेरिकाको पुरानै अवस्था यथावत् रहन्छ । दोस्रो, विश्वमा नयाँ धु्रवीकरण भई ठूलो शक्ति संघर्ष हुनसक्छ । तेस्रो, शान्तिपूर्ण रूपमा विश्वको शासन प्रणालीमा परिवर्तन आउन सक्छ ।

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति निर्वाचित भएसँगै विश्व शासन प्रणालीमा हलचल मच्चिएको छ । उनले संयुक्त राष्ट्रसंघ (यूएन) र स्थापित अन्तर्राष्ट्रिय मान्यताहरूलाई भत्काएर आफ्नो शैलीमा शासन गर्ने संकेत देखाएका छन् ।

अमेरिकी र विश्व शासन प्रणालीको भविष्यबारे तीन वटा सम्भावित परिदृश्य देखिन्छन् । पहिलो, ट्रम्प प्रशासनका कार्यकारी आदेशहरूलाई जनता र न्यायालयबाट प्रतिरोध गरिन्छ र अमेरिकाको पुरानै अवस्था यथावत् रहन्छ । दोस्रो, विश्वमा नयाँ धु्रवीकरण भई ठूलो शक्ति संघर्ष हुन सक्छ । तेस्रो, शान्तिपूर्ण रूपमा विश्वको शासन प्रणालीमा परिवर्तन आउन सक्छ ।


ट्रम्पले अर्बपति व्यवसायी इलन मस्कलाई डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सीको प्रमुख बनाएका छन्, जसले अनावश्यक सरकारी कर्मचारी कटौतीको योजना बनाएको छ । कृषि, शिक्षा, उपभोक्ता अधिकार लगायत थुप्रै कार्यालय हटाउने तयारी छ । यसबाट करदाताको वार्षिक ठूलो बचत हुने अपेक्षा गरिएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) खारेज गरिएको छ । यूएसएडले मुख्यतः सोसियल इन्जिनियरिङमा खर्च गर्दै आएको थियो । गरिब मुलुकमा सामाजिक मूल्यहरू बिथोलेर द्वन्द्व बढाउने काम गरेको भनेर यूएसएडको विगतदेखि नै आलोचना हुँदै आएको थियो ।

अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट हात झिकेको छ । जलवायु परिवर्तन सम्बन्धी कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय खर्च रोकिएको छ । सामाजिक विविधता व्यवस्थापनमा गरिने खर्चहरू कटौती गरिएको छ ।

ट्रम्पको व्यवहार, आक्रामक कूटनीति र अरू देशलाई हेप्ने शैलीका कारण अमेरिकाकेन्द्रित पुरानो गठबन्धन (अमेरिका, बेलायत, युरोपेली संघ, अष्ट्रेलिया, जापान, दक्षिणकोरिया) खल्बलिन सक्छ । यदि अन्य देशहरू नयाँ गठबन्धन बनाएर अमेरिका केन्द्रित विश्व व्यवस्थाको प्रतिकारमा उत्रे भने विश्वव्यापी संघर्ष निम्तिन सक्छ

ट्रम्प प्रशासनले अवैधानिक आप्रवासीहरूलाई देश निकाला गर्ने कार्यलाई तीव्रता दिएको छ । यसले तत्काल अमेरिकामा सस्तो श्रम बजार खुम्चिनेछ । तर दीर्घकालीन रूपमा सामाजिक सुरक्षाको खर्च घट्नेछ ।

स्टन्टबाजीमा सीमित हुने सम्भावना

ट्रम्पले जे चाह्यो त्यो गर्न सक्दैनन् किनकि, उनी एउटा प्रजातान्त्रिक मुलुकको निर्वाचित सरकारप्रमुख हुन् । आफूले गरिरहेका कामको विभिन्न तह र तप्काबाट प्रतिरोध हुन्छ, कार्यान्वयन हुँदैन भन्ने पहिल्यै थाहा हुँदाहुँदै हात हाल्ने र होहल्ला मच्चाउने अनि मैले गर्न खोजेको थिएँ, अदालतले दिएन, फलानोले असहयोग गर्‍यो भनेर अरूलाई दोष लगाएर उम्किने मात्र उनको रणनीति हुन सक्छ ।

नयाँ धु्रवीकरण र सम्भावित विश्वव्यापी संघर्ष

ट्रम्पको व्यवहार, आक्रामक कूटनीति र अरू देशलाई हेप्ने शैलीका कारण अमेरिका केन्द्रित पुरानो गठबन्धन (अमेरिका, बेलायत, युरोपेली संघ, अष्ट्रेलिया, जापान, दक्षिणकोरिया) खल्बलिन सक्छ । यदि अन्य देशहरू नयाँ गठबन्धन बनाएर अमेरिका केन्द्रित विश्व व्यवस्थाको प्रतिकारमा उत्रे भने विश्वव्यापी संघर्ष निम्तिन सक्छ ।

अमेरिकाभित्रै ट्रम्पको नीतिले आम्दानी गुमाउने सर्वसाधारण आन्दोलन गर्ने सम्भावना नकार्न सकिन्न । त्यो आन्दोलन हिंसात्मक पनि हुन सक्छ । आन्दोलन र विद्रोह गर्न बहुमत चाहिंदैन, लुकेर आक्रमण गर्न थोरै मानिस भए पर्याप्त हुन्छ ।

विश्व प्रणालीमा परिवर्तनको सम्भावना

ट्रम्प र मस्कको विचारले धनीहरूको शासन प्रणाली स्थापना गर्ने संकेत गर्छ । उनीहरूलाई विश्वास छ कि, सरकारले बढी कर संकलन गरी अनुत्पादक खर्च गर्नुभन्दा कम कर लिनु उचित हुन्छ । ट्रिकल डाउन इफेक्ट प्रभावकारी हुन्छ । उत्पादनशीलता बढाउनका लागि बजार प्रतिस्पर्धालाई स्वतन्त्र छोड्नुपर्छ ।

ट्रम्प प्रशासनले गरेका निर्णयहरू प्राकृतिक देखिन्छन् । सरकारी कार्यालय र कर्मचारीको संख्यालाई आउटपुटसँग तुलना गर्‍यो भने कहीं पनि जस्टिफाई हुँदैन । शिक्षा, स्वास्थ्य, सामाजिक विकास, कृषि, पशुपक्षी लगायत धेरै कार्यालय नभए पनि जनताको जीवनयापनमा कुनै असर पर्दैन । अन्य कार्यालयमा समेत आउटपुटको तुलनामा कर्मचारी अधिक छन् । केही परिणाम दिने कार्यालयले पनि अधिकांश परिणाम नदिने काम गर्दछन् ।

भोका नेता आए भने धेरै खान्छन्, बरु अघाएकाले कम भ्रष्टाचार गर्छन् भन्ने सबैले बुझेका छन् । भोको पेटले सही नेता छान्न पनि सक्दैन । शासन व्यवस्था, दल, नेताबारे बुझ्ने क्षमता नभएका जनताको भोट खरीद–बिक्री हुने मात्र हो ।

गरिबलाई शासनमा ल्याउने व्यवस्था धेरै महँगो हुन्छ । कुनै पनि अप्राकृतिक काम गर्न कठिन हुन्छ । अगाडि बढ्न खोजेका र केही हदसम्म अगाडि बढिसकेकालाई अझ माथि तान्न सजिलो हुन्छ । ट्रिकल डाउन इफेक्टले आम मानिसको गरिबी हरण गर्न मद्दत पुग्ने कुरा एउटा उदाहरणबाट हेर्न सकिन्छ । अर्बौंको मासु निर्यात गर्ने एउटा कम्पनी स्थापना भयो भने किसानको उत्पादकत्व वृद्धि गर्न सरकारभन्दा उसले बढी चासो दिन्छ ।

इलन मस्कलाई धन कमाउन मात्र होइन, विश्वको शासन प्रणाली आफ्नो सोच अनुसार अर्डरमा राख्ने इच्छा हुन सक्छ

ट्रिकल डाउन अप्रोचबाट समेटिन नसकेका थोरै संख्याको समुदायलाई मात्र राज्यले सामाजिक सुरक्षा र संरक्षणको कार्यक्रमबाट माथि उठाए पुग्छ । ठूलो समुदायलाई गरिब र पिछडिएको अवस्थामा राख्ने अनि साधन स्रोत सबै त्यही खन्याएर उनीहरूलाई माथि उठाउँछु भन्नु कहिल्यै सम्भव नहुने आइडिया हो ।

मिहिनेत गर्ने र क्षमता भएकाले कमाउने हो । आफ्नो कमाइमा उनीहरूकै हक लाग्ने व्यवस्थाले मानिसहरूलाई अघि बढ्न प्रोत्साहन मिल्छ । सुन्दा प्रगतिशील कर प्रणाली राम्रो लाग्छ । प्रतिगामी कर प्रणालीबारे विचार गरौं, जहाँ थोरै आम्दानी गर्नेलाई बढी कर लगाइन्छ । यसको दर्शन मानिसहरू अल्छी नहोउन्, बढी आइडिया लगाउन्, बढी कमाउन् र कमाएको नलुकाउन् भन्ने हो ।

प्रतिगामी कर प्रणाली नै लागू गर्न नसकिएला तर प्रगतिशील पनि नगरेर समान कर प्रणाली लागू गर्न सकिन्छ । एउटा थ्रेस होल्डभन्दा माथि आम्दानी गर्नेलाई समान कर लगाउन सकिन्छ । मानौं सबैलाई १५ प्रतिशत कर लगाउने हो भने पनि १ करोड आम्दानी गर्नेभन्दा १० करोड कमाउनेले १० गुणा बढी कर तिर्छ ।

सरकारले कर संकलन गरेर कर्मचारी, नेता र सरकारी बजेटमा खर्च गर्न हो । यदि निजी क्षेत्रबाट कम कर उठाइयो भने त्यो पैसा निजी क्षेत्रले अरू कम्पनी खोल्न खर्च गर्छ । त्यसबाट मानिसहरूको रोजगारी र आम्दानी बढ्छ, गरिबी घट्छ । यदि सरकारको उद्देश्य पनि यही हो भने कर र सरकारी खर्च घटाउनु जायज हो ।

मस्कको उद्देश्य

इलन मस्क ट्रम्पको चुनावी अभियानका ठूला सहयोगी हुन् । उनले केवल व्यापारिक लाभका लागि ट्रम्पलाई समर्थन गरेका हुन् वा उनी नयाँ विश्व शासन प्रणाली निर्माण गर्ने योजनामा छन् ? मतदाताको स्तरअनुसार पैसा र भ्रमले चुनाव जिताउन सकिने उपयुक्त पात्र ट्रम्प देखिएका कारण यो माध्यम प्रयोग गरेका हुन् ?

कुनै व्यक्तिको उद्देश्य के हो र ऊ त्यसमा सफल हुन्छ कि हुँदैन भन्ने कुरा उनको मनोविज्ञान र क्षमतामा निर्भर हुन्छ । मानिसले जतिसम्म सोच्न सक्छ, त्यतिसम्म मानिसकै क्षमताले प्राप्ति गर्न सक्छ भन्ने एउटा मान्यता छ । केही मानिसमा महत्वाकांक्षा हुन्छ । जस्तैः कसैलाई वन उपभोक्ता समिति वा टोल सुधार समिति जहाँ भए पनि नेतृत्वमा नपुगी जीवन बिताउन कठिन हुन्छ ।

मस्कलाई धन कमाउन मात्र होइन, विश्वको शासन प्रणाली आफ्नो सोच अनुसार अर्डरमा राख्ने इच्छा हुन सक्छ । संसार कब्जा गर्न युद्ध गर्ने, च्यारिटी मार्फत प्रभाव पार्ने, अभियन्ता बन्ने अनेक बाटा हुन्छन् । विश्व प्रणाली कब्जा गर्न सबैलाई शोषण गरेर अत्याचारी बन्नुपर्छ भन्ने छैन । विकास, भ्रातृत्व र आम सन्तुष्टि स्थापना गरेर पनि विश्वको नेतृत्व लिन सकिन्छ । सायद इलन मस्क यही विधिबाट विश्वको नेतृत्व लिन चाहन्छन् ।

सरकार र समाजको ग्याप

विज्ञान प्रविधिको विकासले समाज धेरै अघि बढ्न खोजिरहेको छ । तर सरकारी संयन्त्र बजारमाथि नियमन कस्न चाहन्छ, जसले गर्दा इनोभेसन निमोठिन्छ । सरकारी कर्मचारी र अधिकारी आफू इनइफिसेन्ट हुन्छन् । वैधानिक शक्ति हातमा भएको कारण अरूलाई नियन्त्रणमा राखेर शासनको मजा लिने चाहना उनीहरूमा हुन्छ । यसले समाजको स्वाभाविक गति र विकासलाई रोक्छ । त्यसैले मस्कले चाहेको सरकार आफैं पनि उद्यमशील बन्नुपर्छ र इनोभेसनलाई वैधानिकता दिने काम मात्र गर्नुपर्छ ।

आफ्नो क्षेत्रमा इथिक्स (नैतिकता) को पालना गरेको, दूरदृष्टि भएको र उच्च कार्यदक्षता भएको जस्ता गुणका कारण कोही व्यक्ति धनाढ्य बन्न सम्भव हुन्छ । व्यक्ति–व्यक्ति बीच सम्पर्क गरेर वा सडक पूर्वाधार निर्माण गरेर सम्बन्ध कायम गर्नेभन्दा माथिल्लो सोचमा छन् मस्क । अन्तरिक्ष प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल कनेक्टिभिटी जस्ता माध्यमबाट सेवा–सुविधा विस्तार र अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने उनको सोच देखिन्छ ।

अहिलेको विश्व राजनीतिक प्रणाली र यूएन सिस्टमले इलन मस्कले सोचेको स्तरको विश्व र अन्तरिक्ष बनाउन धेरै अवरोध सिर्जना गर्छ । यो ग्याप कम गर्न उनी विश्वभर त्यसै अनुरूपका उद्यमीहरूको सोचलाई नीति निर्माणमा स्थापित गराउन चाहन्छन् । अमेरिकाको प्रभावले विश्वका सरकार निर्माणको पद्धतिमा बदलाव आउन सक्छ ।

निष्कर्ष

अदालत, संसद्, अमेरिकी समाज, अमेरिकाका राज्य सरकार, अन्तर्राष्ट्रिय शक्तिहरूबाट ट्रम्प प्रशासनलाई चुनौती आउनेछ । तर यदि उनी अटेर गरेर अघि बढे भने अमेरिका मात्र होइन, समग्र विश्वको शासन प्रणालीमा व्यापक परिवर्तन ल्याउन सक्नेछ । यस परिवर्तनको अन्त्यमा विश्व झन् अस्थिर बन्नेछ वा प्रभावशाली धनीहरूबाट प्रभावकारी शासन प्रणाली स्थापित हुनेछ ।