बिल नै नकाटी मदिरा बिक्री, राजश्व अनुसन्धानद्वारा साढे ५ करोडको मुद्दा

काठमाडौं । राजश्व अनुसन्धान विभागले कर छलीको आरोपमा एक फर्मविरुद्ध करिब साढे ५ करोडको मुद्दा चलाएको छ ।
विभागले काठमाडौंको कागेश्वरी मनोहरामा रहेको संस्कार ट्रेडर्सका सञ्चालक सिन्धुपाल्चोक इन्द्रावतीका होमप्रसाद चालिसे विरुद्ध यस्तो मुद्दा दायर गरेको हो ।
चालिसेको फर्मले मदिराको कारोबार गर्दा बिलबिजक जारी नगर्ने गरेको र यसबाट मूल्य अभिवृद्धि कर (भ्याट) तथा अन्तशुल्क छलि भएको आरोप लगाएको छ । यसबाट भ्याटतर्फ २ करोड २५ लाख रुपैयाँ तथा अन्तशुल्कतर्फ ५० लाख ३६ हजार रुपैयाँ सहित कुल २ करोड ७५ लाख रुपैयाँ बिगो कायम गरिएको छ । उक्त बिगो र त्यति नै बराबरको जरिवाना मागदाबी गर्दै उनीविरुद्ध मुद्दा दायर भएको विभागले जनाएको छ ।
चालिसे विरुद्ध शुक्रबार उच्च अदालत पाटनमा अभियोगपत्र दायर भएको विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जनाएकी छन् ।