बुधबार १३ चैत, २०८१

मर्चेन्ट बैंकको ‘अन्डरराइटिङ’ क्षमता बढाइयो

मर्चेन्ट बैंकको ‘अन्डरराइटिङ’ क्षमता बढाइयो

काठमाडौं, ११ चैत । धितोपत्र सार्वजनिक निष्कासनका क्रममा मर्चेन्ट बैंकले गर्दै आएको अन्डरराइटिङ क्षमता बढाइएको छ ।

नियामक नेपाल धितोपत्र बोर्डले बैंक तथा बीमा कम्पनीका सहायक कम्पनीमार्फत हुने अन्डरराइटिङको अधिकतम सीमा बढाइदिएको हो । हालसम्म यस्ता कम्पनीले आफ्नो नेटवर्थको ३ गुणासम्मको रकम बराबरको धितोपत्र मात्रै अन्डरराइटिङ गर्न पाउने व्यवस्था थियो ।

अब भने माउ कम्पनीले दायित्व ब्यहोर्ने सुनिश्चितता गरेको खण्डमा माउ कम्पनीकै नेटवर्थ बराबरको अन्डरराइटिङ गर्न पाउने व्यवस्था गारिएको छ । बैंकिङ र बीमा क्षेत्रका माउ कम्पनी रहेका हकमा मात्रै यो व्यवस्था रहने प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।

‘बैंक तथा बीमा कम्पनीको सहायक कम्पनी अन्डराइटरिङमा छ र माउ कम्पनीले दायित्व सकार्ने सुनिश्चितता गर्छ भने सो कम्पनीको नेटवर्थको सीमाभित्र रहेर अन्डरराइटिङ गर्न पाउने निर्णय भएको हो’ उनले भने ।

बोर्डको निर्णय आइसकेकाले यो व्यवस्था लागु भइसकेको घिमिरेले जानकारी दिए । यद्यपि मर्चेन्ट बैंकर नियमावलीको अनुसूचीमा यसलाई केही दिनमै समेटिने उनले बताए।

यसले मर्चेन्ट बैंकको बिजनेस बढ्न मद्दत पुग्नेछ । हाल कतिपय मर्चेन्ट बैंकले नेटवर्थको सीमाकै कारण पर्याप्त र ठूलो पूँजीका धितोपत्रमा अन्डरराइटिङ गर्न सकेका थिएनन् । प्राथमिक बजारमा धितोपत्र बिक्री नभएमा आफूले सकार्नेगरी प्रत्याभूति गर्ने कार्य नै अन्डरराइटिङ हो ।