कर्णालीमा फैलिँदो आपराधिक जाल, ४ वर्षमा ६ हजारभन्दा बढी अपराधका घटना
कर्णाली, ११ चैत । कर्णाली प्रदेशमा पछिल्ला वर्षहरूमा अपराधका घटनाहरू वृद्धि हुँदै गएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकलाई विश्लेषण गर्ने हो भने पछिल्ला वर्षहरूमा आपराधिक घटनाले बढावा पाउँदै गएको देखाउँछ ।
विगत चार वर्षमा कर्णालीमा ६ हजार ३ सय ८० अपराधका घटना प्रहरीसम्म आइपुगेका छन् । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीभर १ हजार ५ सय ४० आपराधिक घटना भएका छन् । आर्थिक वर्ष २०७९/०८० मा १ हजार ७ सय ५७ अपराधका घटना प्रहरीमा दर्ता भएका छन् ।
यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा २ हजार २० घटना घट्दा चालु आर्थिक वर्षको माघ मसान्तसम्म १ हजार ७८ अपराधका घटना भएको प्रहरीको तथ्यांक छ । प्रदेश प्रहरीको तथ्यांकअनुसार आत्महत्यासम्बन्धी अपराधका घटना धेरै हुने गरेको पाइएको छ । पछिल्लो चार वर्षको अवधिमा कर्णाली प्रदेशका १० जिल्लामा १ हजार १ सय ९२ वटा आत्महत्याका घटना भएका छन् । आत्महत्यासम्बन्धी अपराधका घटना सबैभन्दा धेरै सुर्खेतमा ३ सय ९३ र सबैभन्दा कम डोल्पामा पाँचवटा घटना भएका छन् । यस्तै, दैलेखमा २ सय ६४, रुकुम पश्चिममा १ सय चार, सल्यानमा १ सय ७१, जाजरकोटमा ८०, जुम्लामा ३३, हुम्लामा १४, मुगुमा ७६ र कालीकोटमा ५२ वटा आत्महत्याको घटना भएका छन् ।
आत्महत्याअन्तर्गत विष सेवन, आगो लगाएर, झुण्डिएर, एसिड सेवन, हातहतियार औजारबाट र पानीमा हाम फालेर वा डुवेर आत्महत्याका घटना भएका छन् । सबैभन्दा धेरै झुण्डिएर ९ सय चारवटा आत्महत्याका घटना भएका छन् । प्रदेश प्रहरीको तथ्यांकअनुसार कर्णालीमा सामाजिक अपराधका घटना बढ्दो क्रममा रहेको पाइएको छ । तथ्यांकअनुसार प्रदेशका १० जिल्लामा पछिल्लो चार वर्षको अवधिमा ८ सय तीनवटा सामाजिक अपराधका घटनाहरू भएका छन् । पछिल्लो आर्थिक वर्ष २०८१/०८२ को माघ महिनासम्ममा १ सय २३ वटा सामाजिक अपराधका घटनाहरू भएका छन् ।
यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा २ सय ६६ वटा, आर्थिक वर्ष २०७९/०८० मा १ सय ९१ र २०७८/०७९ मा दुई सय २६ वटा सामाजिक अपराधका घटनाहरू भएका थिए । चार वर्षमा सामाजिक अपराधका घटनाहरू सबैभन्दा धेरै सुर्खेतमा ३ सय ३३ र सबैभन्दा कम हुम्लामा नौवटा भएका छन् । सामाजिक अपराधअन्तर्गत धर्म परिवर्तन, राज्यविरुद्धको अपराध, जातीय भेदभाव तथा छुवाछुत, आवश्यक वस्तु संरक्षण ऐन, कुटपिट अंगभंग, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरलगायत छन् ।
कर्णाली प्रदेशभर चार वर्षमा ६ सय १३ वटा संगठित तथा आर्थिक अपराधका घटना भएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा १ सय ४४ वटा संगठित तथा आर्थिक अपराधका घटना भएका थिए । यस्तै, २०७९/०८० मा १ सय ७१ वटा, आर्थिक वर्ष ०८०/०८१ मा १ सय ६६ वटा संगठित तथा आर्थिक अपराध भएका थिए । आर्थिक २०८१/०८२ को माघ महिनासम्म १ सय ३२ वटा संगठित तथा आर्थिक अपराध भएका छन् ।
प्रहरीमा उपलब्ध तथ्यांकलाई हेर्दा संगठित तथा आर्थिक अपराधमा लागुऔषध कारोबारका घटना सबैभन्दा धेरै देखिन्छ । कर्णाली प्रदेश प्रहरीका प्रवक्ता शिवकुमार श्रेष्ठ कर्णालीमा आत्महत्या, लागुऔषध ओसारपसार, जबर्जस्ती करणी, बैंकिङ कसुरका घटना बढी हुने गरेको बताउँछन् । पैसा छिटो कमाउने उद्देश्यले जानेर वा नजानेर अपराधका घटना हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
पछिल्लो चार वर्षमा ३ सय ९१ जना लागुऔषध कारोबारको आरोपमा संलग्न भएको पाइएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ७६ जना, आर्थिक वर्ष २०८०/०८१ मा १ सय दुई, आर्थिक वर्ष २०७९/०८० मा १ सय १३ र आर्थिक वर्ष २०७८/०७९ मा ९५ जना लागुऔषध कारोबारको आरोपमा संलग्न भएका थिए । जुवा खेल्न वा सट्टेबाजी, मुद्रासम्बन्धी कसुर, ठगी, लागुऔषध, कालो बजार, चन्दा संकलन, सरकारी छाप/दस्तखत किर्ते, अपहरण वा शरीर बन्धकसम्बन्धी कसुर, हातहतियार खरखजनासम्बन्धी मुद्दालाई प्रहरीले संगठित तथा आर्थिक अपराध उल्लेख गरेको छ ।
कर्णालीमा साधारण र नकबजनी (घरको भित्तो फोरेर चोर्ने काम) चोरीका घटना बढ्दै गएका छन् । पछिल्ला चार वर्षको अवधिमा २ सय ६४ चोरीका घटना भएको प्रहरीको तथ्यांक छ, जसमा १ सय ६२ साधारण चोरी, ५३ डाँका चोरी, ३७ नकबजनी चोरी, नौे सवारी चोरी, एक पुरातात्विक चोरी र दुई चौपाया चोरीका घटना प्रहरीमा दर्ता भएका छन् ।
यस्तै, मानव बेचबिखन ओसारपसारका १७, २ सय ४४ बहुविवाह, ३२ बालविवाह, ६ सय ५७ जबर्जस्ती करणी, १ सय ४७ जबर्जस्ती करणी उद्योग, चार अप्राकृतिक मैथुन, २९ बालयौन दुराचार, नौ यौन दुर्व्यवहार, चार बोक्सीको आरोप र तीन बालहिंसाका मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
चार वर्षको अवधिमा ६ सय पाँचवटा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएका छन् । कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगका ३ सय ५६ वटा उजुरी परेको प्रहरीको तथ्यांक छ । कर्णालीमा सवारी दुर्घटनाका घटना पनि बढेका छन् । चार वर्षमा प्रदेशभर २ सय ३७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । प्रहरीको तथ्यांकअनुसार सवारी दुर्घटनाबाट १ सय १६ जना अंगभंग भएका छन् ।
