जब प्रधानमन्त्री ओलीले देउवालाई विपक्षी दलको नेता भने…

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले मंगलबार एक कार्यक्रममा सत्ता सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलका नेता भनी सम्बोधन गरेपछि हाँसो भएको छ।
नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाको पुस्तक ‘म र मेरो सानो बुवा’ शीर्षक आत्मकथा विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा देउवालाई विपक्षी दलको नेता भनी सम्बोधन गरेका थिए।
सम्बोधन लगत्तै कार्यक्रममा सहभागीहरू गलललल हाँसेपछि प्रधानमन्त्री ओलीले आफ्नो भनाइ सच्याएका छन्। उनले भने, ‘विपक्षी दलका नेता, संसदमा। ए विपक्षी दल नेता होइन, अहिले त हामी सरकारमा पो छौं त है ।’ त्यसपछि उनले सच्याएर ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी’ भनेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवा भने प्रधानमन्त्री ओलीप्रति मखलेल देखिएका थिए। उनले आफ्नो सम्बन्ध ओलीसँग पहिल्यैदेखि राम्रो रहेको र अहिले पनि राम्रो रहेको बताए। त्यस्तै उनले सत्ता सहयात्री दल नेपाली कांग्रेसको प्रधानमन्त्री ओलीलाई साथ रहेको बताएका थिए।