कुलमानलाई हटाउने निर्णयप्रति गगन थापाको असन्तुष्टि: ‘सरकारले उल्टो बाटो हिँड्दै छ’

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा पुनः नियुक्त नगर्ने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सरकारकै निर्णयका कारण आम नागरिकमा असन्तुष्टि चुलिएको बताउँदै गलत निर्णय सच्याउन आग्रह गरेका छन्।
“आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन-रात नभनी मेहनत गर्ने, तर सरकार आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने?” उनले लेखेका छन्।
थापाले मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने भए पनि त्यसो नभएको उल्लेख गर्दै सरकारको निर्णयलाई ‘गलत’ ठहर गरेका छन्।
“निर्णय गलत छ, सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन,” उनले लेखेका छन्।
कुलमान घिसिङको नेतृत्वमा लोडसेडिङ अन्त्य भएपछि उनी जनस्तरमा लोकप्रिय बनेका थिए। उनलाई पुनः विद्युत् प्राधिकरणको नेतृत्वमा नल्याउने सरकारको निर्णयप्रति तीव्र आलोचना भइरहेका बेला थापाले पनि असन्तुष्टि प्रकट गरेका हुन्।