अमेरिकी नागरिकको अपहरण गरी ४ करोड ५० लाख फिरौती माग्ने महिला पक्राउ

पोखरा । अमेरिकी नागरिकलाई अपहरण गरी फिरौती उठाउने योजनामा संलग्न एक नेपाली महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-४ की ३७ वर्षीया सरिता लामा रहेको कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबू ओलियाले जानकारी दिएका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र मकवानपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको हो।
घुम्न आएकी अमेरिकी महिलाको अपहरण
अमेरिकाकी ७० वर्षीया महिला साथीहरूसँग मुक्तिनाथ भ्रमणका लागि नेपाल आएकी थिइन्। लामासँग सामान्य चिनजान भएकी ती महिलाले नेपाल भ्रमणको क्रममा लामा मार्फत घुम्ने ठाउँहरूको जानकारी लिइरहेकी थिइन्।
पोखराको लेकसाइडस्थित एक होटलमा बसेकी अमेरिकी नागरिकलाई लामाले घरमा लैजाने बहाना गर्दै लगेकी थिइन्। तर, उनले घर नलगी लुकाएर ३ लाख युरो (झन्डै ४ करोड ५० लाख रुपैयाँ) फिरौती माग्न थालेकी थिइन्।
नेपालस्थित अमेरिकी दूतावासको सूचनापछि उद्धार
अपहरणबारे नेपालस्थित अमेरिकी दूतावासले कास्की प्रहरीलाई जानकारी गराएपछि प्रहरीले तत्काल अनुसन्धान थालेको थियो। प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा अपहरणमा संलग्न लामाले पीडितलाई पोखराबाट चितवन, हेटौँडा हुँदै पर्सातिर लगेको पत्ता लाग्यो। प्रारम्भिक अनुसन्धानका आधारमा उनलाई भारतसम्म लैजाने तयारी भइरहेको देखिएको प्रहरीको भनाइ छ।
मङ्गलवार प्रहरीलाई प्राप्त सूचनाका आधारमा खोजी अभियान सञ्चालन गरिएको थियो। कास्की प्रहरीले सक्रिय रुपमा अनुसन्धान गरी अमेरिकी महिलाको सकुशल उद्धार गरेको छ भने अपहरणकारी सरिता लामालाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।