सोमबार १८ चैत, २०८१

मिलापत्रको कागजात भेटिएपछि छुटे काभ्रेका जिसस प्रमुख, के थियो विवाद ?

मिलापत्रको कागजात भेटिएपछि छुटे काभ्रेका जिसस प्रमुख, के थियो विवाद ?

काठमाडौं । जिल्ला समन्वय समिति (जिसस), काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम हिरासतमुक्त भएका छन् ।

उनीविरुद्ध प्रहरीको रेकर्डमा रहेको ६ वटै कसुरमा मिलापत्र भइसकेको कागजात बुझाएपछि गौतमलाई छाडिएको एक प्रहरी अधिकृतले बताए ।

गौतमका अनुसार, बैंकिङ कसुरको एउटा मुद्दामा पीडित पक्षसँग छलफल गर्न गएका बेला प्रहरीको रेकर्डमा अरु मुद्दा समेत देखिएपछि उनलाई पक्राउ पूर्जी थमाइएको थियो ।

‘तर, ती सबै मुद्दामा पहिल्यै मिलापत्र भइसकेको थियो, अदालतबाट कागज नआएका कारण समस्या भएको रहेछ’, गौतमले भने, ‘अब कुनै समस्या छैन ।’
प्रहरीले बुधबारै गौतमलाई जिल्ला अदालत, काठमाडौं लगेर ७ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । तर, उनका पक्षका वकिलहरुले पहिल्यै लेनदेनको विषय टुंगिसकेको जिकिर गरेपछि न्यायाधीशले दुई दिन मात्र म्याद दिएका थिए ।

प्रहरीले ६ वटा मुद्दा रहेको बताएपछि अदालतले अन्य विषयमा जाँच गर्न अनुमति लिएको थियो ।

तर, दुई पक्षबीच व्यवहार मिलेको भेटिएपछि छाडिएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख रामहरि काफ्ले शर्माले बताए ।

उनले भने, ‘काभ्रेमा उजुरी भएको थाहा पाएपछि त्यहाँ पठाएका थियौं, यद्यपि अनौपचारिक रुपमा त्यहाँ मिलापत्र भइसकेको भन्ने सुनेका छौं ।’

काभ्रेमा अहिले औपचारिक रुपमा मिलापत्र भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

कृषि महोत्सवको रकमको विवाद

प्रहरीका अनुसार, गत वर्ष फागुन ४–७ गतेसम्म चलेको बनेपा बहृत कृषि महोत्सवको बेला भएको खर्चको विवादमा उनीविरुद्ध उजुरी परेको हो ।

जिल्ला समन्वय समितिसहित कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल लगायतको आयोजनामा भएको कार्यक्रममा व्यवस्थापनका लागि दिनुपर्ने भुक्तानीका लागि समय लाग्ने भएपछि उनले व्यक्तिगत चेक काटेर दिएका थिए ।

तर, त्यो भुक्तानी नभएपछि प्रहरीमा उजुरी परेको थियो । ‘त्यो मेरो व्यक्तिगत काम थिएन, संस्थागत काम थियो, जोखिम लिएर आफ्नो व्यक्तिगत चेक दिएको थिएँ’, काभ्रे सरकारी वकिलको कार्यालयमा रहेका गौतमले भने, ‘कृषि महोत्सव, युथ फेस्टिभल लगायतका कार्यक्रमम जाँदा ५० लाख रुपैयाँजति ऋण लागेको थियो ।’

कतिपयको ऋण बाँकी रहेकाले अलिअलि गर्दै घटाइरहेको उनी बताउँछन् । ‘तर, फेरि अर्को कार्यक्रम गर्न लागेका बेला मलाई नियन्त्रणमा लिइयो’, गौतमले थपे, ‘जबकि, उजुरी परेजति सबै भुक्तानी भइसकेका विषय थिए ।’

गौतम नेतृत्वको जिससले बिहीबारदेखि धुलिखेलमा युथ फेस्टिबल कार्यक्रम राखेको थियो । ७५ देशका एक हजार युवाको उपस्थितिमा हुन लागेको कार्यक्रमको पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् ।

सुरुमा यो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली जाने भनिएको थियो । तर, अन्तिम समयमा उनको धुलिखेल जाने कार्यक्रम रद्द भएको थियो ।