बस्दै नबसी स्थगित भयो प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको छ ।
विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले बैठक दिउँसो २ बजेलाई सारिएको संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
‘मिति २०८१ साल चैत १४ गते बिहीबार बिहान ११:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि विपक्षी दलले विरोध गरिरहेका छन् । विपक्षीको अवरोधका कारण बुधबार प्रतिनिधिसभा बैठक नियमित प्रक्रियामा प्रवेश नगरी बिहीबारका लागि सारिएको थियो ।
विपक्षी दलको अवरोधपछि बिहीबार राष्ट्रिय सभा बैठक समेत एक घण्टाका लागि स्थगित गरिएको छ ।
null