निजामती विधेयक संसदीय उपसमितिबाट पारित

काठमाडौँ। संघीय निजामती सेवा सम्बन्धी विधेयक संसदीय उपसमितिबाट पारित भई मूल समितिलाई बुझाइएको छ।
नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडू नेतृत्वको उपसमितिले विधेयकको प्रतिवेदन पारित गर्दै राज्य व्यवस्था तथा सुशासन समितिलाई बुझाएको हो।
बिहीबार सिंहदरवारस्थित समितिको सभाकक्षमा उपसमितिका संयोजक बडूले समितिका सभापति रामहरि खतिवडालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
उपसमितिले विधेयकका अधिकांश विषयमा सहमति जुटाए पनि अवकाश लगत्तै संवैधानिक नियुक्ति वा परामर्शदाताको रूपमा काम गर्नका लागि तोकिएको ‘कुलिङ पिरियड’ प्रावधानबारे थप छलफल आवश्यक रहेको भन्दै मूल समितिलाई सिफारिस गरेको छ।
निजामती सेवाका कर्मचारीहरूको अवकाश उमेर ६० वर्ष बनाउने विषयमा सहमति जुटिसकेको छ। तर, यो प्रावधान एकैपटक लागू गर्ने कि क्रमशः ५९ हुँदै ६० वर्षमा पुर्याउने भन्ने विषयमा अझै निर्णय भएको छैन। यसबारे मूल समितिमा थप छलफल हुनेछ।