श्रीलंकाका समकक्षीसँग प्रधानमन्त्री ओलीको भेट

बैंकक, २१ चैत्र । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री केपी ओली र श्रीलंकाका प्रधानमन्त्री हरिनी अमरासुरियाबीच भेटवार्ता भएको छ ।
थाइल्यान्डको औपचारिक भ्रमणका कार्यक्रमहरु सकिएपछि प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्यान्ड आएका सदस्य मुलुकका राष्ट्रप्रमुख-सरकार प्रमुखसँगको साइडलाइन भेटवार्ता र अन्य भेटवार्तामा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ । भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
आज (बिहीबार) भएको भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायतको सहभागिता थियो ।