आइतबार २४ चैत, २०८१

सेयर कारोबारमा वृद्धि, चैत मसान्तको दबाब कत्तिको पर्ला बजारमा ?

सेयर कारोबारमा वृद्धि, चैत मसान्तको दबाब कत्तिको पर्ला बजारमा ?

काठमाडौं ।  सेयर बजार बिहीबार सामान्य देखिएको छ । सूचकमा झिनो सुधार हुँदा कारोबार रकम भने बढेको छ । यस दिन नेप्से सूचक ३.३५ विन्दुले बढेर १७०३.३९ अंकमा आएको छ । ७ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। वाणिज्य बैंकसहित २ वटा समूहका सूचक बढेका छन् । बजार २७ सयको मनोवैज्ञानिक रेखा नजिकै छ । वाणिज्य बैंक समूह वृद्धि हुँदा नेप्से हरियो बन्न सकेको देखिन्छ ।

यसअघि बुधबार पनि बजार बढेको थियो । सूचकसँगै क्रमशः कारोबार रकम पनि बढ्दै गएकाले आम लगानीकर्ताको मनोबल सकारात्मक हुँदै गएको अनुमान गर्न सकिन्छ । यद्यपि, बिहीबार सूचक भने सामान्यमात्र बढेको छ । समग्रमा बजारले सकारात्मक लय समाउँदै जाने अनुमान गरिएको छ । यसअघि बजारमा लामै करेक्सन आएको थियो ।

सेयर बजार फेरि २७ सयमाथि आएको छ । चैत अन्तिम साता नजिकिंदै गर्दा बजारमा सामान्य सुधार जारी छ । सामान्यतयः चैत मसान्तको आसपासमा बजारमा प्रेसर हुने गर्छ । लगानीकर्तालाई पनि बैंकको साँवा–ब्याज भुक्तानी, अन्य करहरु तिनुपर्ने लगायतका कारण सेयर बिक्री गर्नुपर्ने दबाब परेको हुन्छ । 

तर बजार मसान्तको चापमा पनि औसतमा सकारात्मक गतितर्फ अघि बढिरहेको छ । यो सेयर बजारका लागि भने सुखद् पक्ष हो । यसअघि नै बजारमा फराकिलो अंकको गिरावट आइसकेको छ । करेक्सन चक्र पूरा भएको र बजार विस्तारै बढ्नेतर्फ अघि बढेकाले मसान्त नजिकिंदा पनि अहिले बजारमा खासै ठूलो दबाब नपरेको अनुमान गरिएको छ । 

यद्यपि, अझै चैतमा ४ दिन सेयर कारोबार हुन्छ । ती दिनहरुमा बजारको अवस्था कस्तो रहन्छ त्यो भने हेर्न बाँकी नै छ । अब ४ कार्य दिनमात्र बाँकी रहेकाले यसबीचमा बजारमा त्यति धेरै ठूलौ उताचढाव नआउने कतिपयको विश्लेषण छ । यसअघि पनि बजार फराकिलो अंकले घटिसकेको छ । यसर्थ, सूचकमा सामान्य उतारचढाव हुनुलाई भने स्वभाविक र सामान्य नै मान्न सकिन्छ । 

तर समग्रमा हेर्दा भने यतिबेला सेयर बजारलाई अघि बढ्न धेरै कुराहरुले सपोर्ट गरिरहेको देखिन्छ । बजारले वर्षौं लामो वियरिस चक्र पार गरिसकेको छ । यस्तै, सेयर बजारलाई वास्तवमै प्रभाव पार्ने बैंक ब्याजदर निकै तल्लो विन्दुमा झरेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । सरकार तथा नियामक निकायहरु पनि सेयर बजार सुधार हुनुपर्छ भन्ने मान्यतामा देखिएका छन् । 

यसअघि लामो समय नेप्से घट्दा कतिपय कम्पनीको सेयर मूल्य अहिले पनि निकै सस्तो अवस्थामा छ । यस्तो बेला सबल वित्तीय सूचक भएका र लाभांश क्षमता राम्रो रहेका कम्पनीहरुमा लगानी गर्दा भविष्यमा बढी लाभ लिन सक्ने सम्भावना रहन्छ । 

मजबुत वित्तीय सूचक भएका कम्पनीहरुमा लगानी गर्दा बजार घटिहाले पनि लाभंशबाट जोखिम न्यूनीकरण गर्न सहयोग पुग्छ । आधारभूत अवस्था सबल भएका कम्पनीहरुले पुँजीगत लाभसहित लाभांश पनि दिने भएकाले तुलनात्मकरुपमा बढी लाभ लिन सकिने सम्भावना हुन्छ । 

यस्तै, सबल कम्पनीहरुको सेयर धितो राखेर सजिलै कर्जा पाइने सम्भावना हुन्छ । बैंकहरुले अहिले सेयर कर्जालाई प्राथामिकतामा राखेका छन् । अन्य क्षेत्रका कर्जाको माग तुलनात्मकरुपमा निकै न्यून छ । 

तर सेयर धितो कर्जामा भने व्यक्तिगत तथा संस्थागत दुवैतिरका लगानीकर्ताको निकै बढी आकर्षण रहेको बैंकरहरुको भनाई छ । बैंक ब्याजदर न्यून विन्दुमा झरेपछि म्युचुअल फन्डलगायत संस्थागत लगानीकर्ताहरु पनि सेयर बजारतिर आकर्षित भइरहेको तथ्यांकले देखाएको छ । कारणहरुले बजारलाई अघि बढ्न सपोर्ट गरिरहेको देखिन्छ ।

यस दिन ३ सय २४ कम्पनीको १ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७२ करोड ३२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर परेका छन् ।